चोरिएको मूर्ति तीन वर्षपछि फेला

डिसी नेपाल
६ माघ २०७६ १४:१५

सिञ्जा। प्रसिद्ध धार्मिक मन्दिर चन्दननाथको मुख्य मूर्ति तीन वर्षपछि फेला परेको छ। मन्दिरबाट चोरिएको करिब १८ किलो चाँदीको दत्तात्रयको मुख्य मूर्ति खेतको आलीमा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

विसं २०७३ मङ्सिर ११ गते राति मन्दिरबाट मूख्य मूर्तिसहित दर्जनौँ बहुमूल्य मूर्ति चोरिएका थिए। साेमबार बिहान चन्दननाथ नगरपालिकाको दानसाँघु भन्ने ठाउँमा खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको हो। स्थानीय लोकेन्द्र हमालले खेतको आलीमा मूर्ति देखेपछि मन्दिर र प्रहरीलाई खबर गरेका थिए।

मूर्ति भेटिएपछि प्रहरी घटनास्थल पुगेको छ। मुचुल्का उठाइसकेपछि मन्दिरमा पुनःस्थापनाका लागि तयारी गरिने चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका उपाध्यक्ष दयादत्त खत्रीले जानकारी दिनुभयो । मूर्ति चोरी हुँदा त्यसबेला जुम्लामा आन्दोलन चर्किएको थियो।

अनुसन्धानका लागि केन्द्रीय प्रहरी जाँच ब्यूरो (सिआइबी) को छानबिन टोली गठन गरे पनि मूर्ति कसले चोरेको हो भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन। मूर्ति चोरी भएको केही समयपछि अन्य मूर्तिहरु गुठीचौर गाउँपालिकाको देपालगाउँमा फेला परेका थिए। मुख्य मूर्ति भने भेटिएको थिएन। भेटिएको मूर्ति स्थानीयवासीले आजै बाजागाजासहित मन्दिरमा ल्याउने तयारी गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *