प्राप्त जिम्मेवारीलाई आत्मसात् गर्नुहोस : मुख्यमन्त्री गुरुङ

डिसी नेपाल
६ माघ २०७६ २१:५५

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राप्त जिम्मेवारीलाई आत्मसात् गर्दै क्रियाशील बन्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् । पोखरा महानगरपालिकाको छैटौँ नगरसभाको सोमबार आयोजित समारोहमा उनले लामो समयको अस्थिरताबाट देश गुज्रिएको अवस्थामा स्थिर सरकारको आवश्यकता महसुस गर्दै नेपाली जनताले संघ, प्रदेश र स्थानीय तीनवटै तहमा वर्तमान नेतृत्वलाई निर्वाचित गराएर पठाएको बताए।

जनादेशअनुसार काम गर्नुपर्ने जनप्रतिनिधिको दायित्व भएको बताउँदै उनले समृद्धि र विकासका लागि प्रतिपक्षको भूमिका पनि महत्वपूर्ण हुने धारणा राखे। प्राकृतिकरुपमा सुन्दर पोखरा यहाँको मात्र नभई देशको नै महत्वपूर्ण पर्यटकीयस्थल भएको बताउँदै उनले यसको विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक भूमिका आवश्यक हुनेमा जोड दिए । पोखराको फेवातालको संरक्षणका लागि यसै वर्ष सिमानालगायतका विषयमा टुङ्गो लगाउँदै थप संरक्षणका काम अघि बढाइने उनको भनाइ छ ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पोखराको समग्र विकासका लागि दीर्घकालीन सोचका साथ अघि बढिएको बताए । पोखराको सुन्दरता जोगाउँदै यहाँको विकासका लागि महानगर अग्रसर भएको बताउँदै उनले यसका लागि पक्ष वा विपक्ष नभनी सबैको सकारात्मक सहयोग आवश्यक हुनेमा जोड दिए।

कार्यक्रममा प्रदेशसभा सदस्य विन्दुकुमार थापा, मनबहादुर गुरुङ, राजीव पहारी, महानगरमा नेकपाका तर्फबाट सचेतक तथा विधायन समिति सभापति शोभामोहन पौडेल, नेपाली काँग्रेसका सचेतक रामराज रेग्मीलगायतले पोखरालाई नेपालकै पर्यटनको राजधानीका रुपमा स्थापित गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

सभामा वनसम्पदा संरक्षण, स्थानीय वातावरण प्राकृति स्रोतको संरक्षण, पशु स्वास्थ्य तथा पशु सेवा, पोखरा प्रज्ञा–प्रतिष्ठान, यातायात व्यवस्थापन र कर्मचारी सेवा ऐन खरिद नियमावली, महानगरपालिकाको भवन नियमित तथा अभिलेखीकरण कार्यविधि र समिति उपसमिति गठनसम्बन्धी कार्यविधि प्रस्तुत गरिएको छ ।

त्यस्तै महानगरपालिकाको न्यायिक समिति (कार्यविधिसम्बन्धी) ऐन २०७४ (पहिलो संशोधन) को प्रस्ताव पनि सभामा लगिएको छ । सभामा प्रस्तुत गरिएका ऐन, कार्यविधि तथा संशोधनको प्रस्ताव छलफलपछि पारित गरिनेछ । नगरसभा बुधबारसम्म चल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *