प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटाको उम्मेदवारी दर्ता

डिसी नेपाल
७ माघ २०७६ १२:२२

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट अग्नि प्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गएका छन्। मंगलबार सापकोटाले सभामुखका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

सुवास नेम्वाङको समर्थन तथा देव गुरुङ, ओनसरी घर्ती र लक्ष्मणलाल कर्णको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै सापकोटाले जननिर्वाचित सर्वोच्च संस्थाको गरिमा र यसको मूल्य मान्यतालाई अझ उचो पार्न भगिरथ प्रयास गर्ने बताए।

कृष्णबहादुर महराले यौन दुव्र्यहारको आरोप लागेसँगै गत असोजमा राजीनामा दिएपछि सभामुख पद खाली रहेको छ। माघ १२ हुने सभामुखको निर्वाचनका लागि सापकोटाको एकल उम्मेदवारी परेको छ। प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने घोषणा गरिसकेको छ।

संसद् सचिवालयले आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ। सभामुख पदको निर्वाचन यही माघ १२ गते हुँदैछ। आइतबार बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी सदस्य सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

तत्कालीन सभामुखले पदबाट राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद रिक्त रहँदै आएको छ। नेकपाले सभामुखको उम्मेद्वारी टुंगो लगाएपछि सोमबार उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी थिईन् । यसैगरी आज बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख पदमा उम्मेद्वार नबनाउने निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *