मलेसिया–११ विरुद्ध क्यान–११ को फराकिलो जित

काठमाडौं । नेपालको क्यान–११ ले मलेसिया–११ विरुद्धको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा फराकिलो जित हात पारेको छ । मंगलबार भएको दोस्रो खेलमा क्यान–११ ले मलेसियालाई १ सय ७० रनले हराएको हो ।
पोखरा रंगशालामा क्यानले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याएको मलेसिया २८ ओभर ४ बलमा अलआउट हुँदै १ सय २० रनमा समेटियो । उसका शेद अजिजले सर्वाधिक २८ रन बनाए ।
यस्तै भुसन सेभले २४, भिरन्दीप सिंहले २३, अहमद अरिफले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । मलेसियालाई सस्तैमा समेट्न किशोर महतो र ललित राजवंशीले समान ३–३ विकेट लिए । यस्तै सुशन भारीले २ तथा कमल सिंह ऐरी र पवन सर्राफले समान १–१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको क्यान–११ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो । क्यानको लागि कप्तान ज्ञानेन्द्र मल्ल र रोहित कुमार पौडेलले समान ५५ रनको अर्धशतकीय इनिङ्स खेले । दुवै खेलाडी रिटायर्ड भए । यस्तै सुबास खकुरेल ४७ रनमा आउट भए । लोकेश बमले ३२, बिनोद भण्डारीले २१ र सुनिल धमलाले २४ रनको योगदान दिए ।
खेलमा किशोर महतो प्लेयर अफ दि म्याच चुनिए । सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा क्यान–११ ले १ सय ३४ रनको जित निकालेको थियो ।
विश्व क्रिकेट लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजका लागि अहिले नेपाली टिमले पोखरामा अभ्यास गरिरहेको छ ।
Facebook Comment