आरबीबी एनभीए भलिबलः सेमिफाइनलमा न्यू डायमण्ड र आर्मी भिड्ने

डिसी नेपाल
७ माघ २०७६ १९:०२

काठमाडौं । न्यू डायमण्ड स्पोर्ट्स क्लब समूह विजेता बन्दै पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३(० को सेटमा पराजित गर्दै न्यू डायमण्ड समूह बी को विजेता बनेको हो ।

न्यू डायमण्डले ढोरपाटनमाथि २५–३, २५–१६ र २५–१२ को सेटमा जित निकाल्यो । ढोरपाटनविरुद्ध न्यू डायमण्डले दोस्रो सेटबाट दोस्रो रोजाईका खेलाडी खेलाएको थियो । जितसँगै समूह बी को न्यू डायमण्डले ५ अंक जोड्यो । दुई खेलमा हार व्यहोरेको ढोरपाटन प्रतियोगिताबाट बाहिरिएको छ ।

यस समूहमा ४ अंक जोडेको नेपाल पुलिस क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । अब न्यू डायमण्डले सेमिफाइनलमा समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

यस्तै पुलिसले समूह ए को विजेता एपीएफसँग खेल्नेछ । साविक विजेता समेत रहेको एपीएफले मंगलबार आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै समूह विजेता बनेको थियो ।

विभागीय भिडन्तमा एपीएफले आर्मीलाई २५–१०, १९–२५, २५–१८ र २५–११ ले पराजित गरेको थियो । जितसँगै समूह ए को एपीएफले समूह चरणमा शतप्रतिशत जित निकाल्यो । ३ खेलमा ३ जितसहित एपीएफले ९ अंक जोड्यो ।

एपीएफले पहिलो खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र दोस्रो खेलमा भरतपुर मेट्रो खेलकुद परिषदलाई हराएको थियो । आर्मी भने समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । आर्मीले ३ खेलमा ६ अंक जोड्यो । आर्मीले यस अघि भरतपुर र जावलाखेललाई नै हराएको थियो ।

यस समूहबाट भरतपुर र जावलाखेल भने समूह चरणबाट बाहिरिएका छन् । नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।

माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५/२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *