ग्रेटा थनबर्गलाई लक्षित गर्दै ट्रम्पले नाम नलिइ भने – ‘हिजोका मूर्ख भविष्यवक्ताका उत्तराधिकारी’

डिसी नेपाल
९ माघ २०७६ १३:१६

दाभोस। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनका कारण भोलि विनाश हुने भन्दै चालिएको अभियानलाई ‘प्रलयको भविष्यवाणी’ भनेका छन् । स्विट्जरल्याण्डको दाभोसमा जारी वर्ल्ड इकोनोमिक फोरमको कार्यक्रममा ट्रम्पले यस्तो भनिरहँदा जलवायु परिवर्तनकी अभियन्ता ग्रेटा थनबर्ग पनि सोही कार्यक्रममा उपस्थित थिइन् ।

ट्रम्पले विश्वको विनाश हुने भविष्यवाणीलाई विश्वास नगर्न अपिल गर्दै अमेरिकाले आफ्नो अर्थतन्त्रको रक्षा गर्ने बताएको बीबीसीको समाचारमा उल्लेख छ । ट्रम्पले किशोरी वातावरण अभियन्ता ग्रटा थनबर्गको नाम भने लिएनन् । पछि थनबर्गले विश्व नेताहरुमाथि खनिँदै भनिन् ‘शायद तपाइँहरुले ख्याल गर्नुभएको छैन, पृथ्वी जलिरहेको छ ।’

ट्रम्पले आफ्नो भनाइका क्रममा अहिले निराशावादी नभइ आशावादी हुनुपर्ने बेला भएको बताए । वातावरण अभियन्ताहरुलाई लक्षित गर्दै उनले भने ‘यी भविष्यवक्ताहरु सबैं एउटै कुराको माग गर्छन्, आफ्नो प्रभूत्व जमाउन पूर्ण शक्ति, हाम्रो जीवनका हरेक कुराहरुमा परिवर्तन र नियन्त्रण । उनले यी अभियन्ताहरुलाई ‘पहजोका मूर्ख भविष्यवक्ताहरुका उत्तराधिकारी’ भएको टिप्पणीसमेत गरे ।

यद्यपि उनले आफू पर्यावरण संरक्षणको लागि प्रतिबद्ध भएको जनाए । उनले अमेरिका १ ट्रिलियर बिरुवा रोप्ने, पुनस्थापना गर्ने र संरक्षण गर्ने अभियानमा सहभागी हुने बताए । ‘हामी भगवानको सृजना र हाम्रो पृथ्वीको प्राकृतिक सौन्दर्यलाई लाई संरक्षण गर्न प्रतिबद्ध छौं’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *