चीनमा कोरोना भाइरसका ५ सय ७१ जना संक्रमित
![चीनमा कोरोना भाइरसका ५ सय ७१ जना संक्रमित](https://www.dcnepal.com/wp-content/uploads/2020/01/thumb-2.jpg)
चीन । चीनमा कोरोना भाइरसको संक्रमणका विरामीको सङ्ख्या ५ सय ७१ जना पुगेको जानकारी चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका छन् ।
बुधबार साँझसम्म चीनका अधिकारीहरुले उक्त संक्रमणबाट विरामी हुनेहरुको सङ्ख्या ५ सय ७१ पुगेको स्वास्थ्य अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो । हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएकोले पशुबजारमा पनि कडा नियमन गरिएको छ ।
चीनका विभिन्न २५ प्रान्तमा यो भाइरसको संक्रमण फैलिएको छ । स्थानीय प्रशासनले जङ्गली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिइएको बताएको छ ।
यसका साथै मानिसहरुको बढी आवतजावत हुने विमानस्थल, बसपार्क र रेलमार्ग स्टेसनमा पनि स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।
हुबेई प्रान्तमा नै यसबाट धेरैको ज्यान गएको छ । चीनका स्वास्थ्य मन्त्री ली बिनले कोरोना भाइरसबाट हुबेई प्रान्तमा नै १७ जनाको ज्यान गएको जानकारी दिएका छन् ।
मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेको पनि जनाइएको छ । यो संक्रमणको संख्यामा करिब ५ हजार ९ सय जनालाई उपचारार्थ भर्ना गरिएको थियो ।
यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् । तर उनीहरुलाई पनि विशेष निगरानीमा राखिएको बताइएको छ ।
चीनको वुहानको जनसंख्या भन्डै एक करोड रहेको छ । त्यसैले उक्त संक्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि बताइएको छ।
बुधबार प्राप्त एक समाचारमा अमेरिकाको सियाटलमा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको अमेरिकी अधिकारीले जनाएका छन् । चीनको हुबेइबाट केही दिनअघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको संक्रमण भेटिएको हो ।
त्यसैगरी जापानको राजधानी टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन् ।
दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा पनि यस संक्रमणका एक–एक जना भेटिएका छन् ।
Facebook Comment