कोरोनाभाईरसको कारण चीनका तीन शहरमा यातायात बन्द
![कोरोनाभाईरसको कारण चीनका तीन शहरमा यातायात बन्द](https://www.dcnepal.com/wp-content/uploads/2020/01/110622049_mediaitem110622046.jpg)
बीबीसी । चीनमा नयाँ भाइरस सङ्क्रमणको त्रासकामाझ एकपछि अर्को गरी तीनवटा ठूला शहरमा यातायात सेवामा बन्देज लगाइएका छन्। कोरोनाभाइरसका कारण कम्तीमा २५ जनाको ज्यान गइसकेको छ भने ६ सय भन्दा धेरै सङ्क्रमित भएका छन्।
नयाँ घातक भाइरस फैलनबाट रोक्न १ करोड १० लाख जनसङ्ख्या भएको वुहान शहरका साथै कुल ८५ लाख जनसङ्ख्या भएको ह्वाङ्ग गाङ्ग तथा इजौ शहरमा पनि यातायातमा बन्देज लगाइएको हो।
त्यहाँका बासिन्दालाई शहरबाहिर नजान भनिएको छ। पछिल्ला दुवै सहर सङ्क्रमणको केन्द्रमा रहेको वुहान नजिकै छन्। वुहानमा यस अघि नै यातायातमा बन्देज लगाइसकिएको थियो। कोरोनाभाइरसको सङ्क्रमण रोक्न चीनको वुहानमा सबै उडान, रेल तथा बस सेवा बन्द
वुहान शहरका मेयरले त्यहाँ फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्ने काममा अधिकारीहरूले तदारुकता देखाउन नसकेको स्वीकारेका छन्। अधिकारीहरूलाई उक्त भाइरसको खतरा र त्यो यस्तो तीव्र गतिमा फैलिएला भन्नेबारे थाहा हुन नसकेको उनले बताए।
वुहानमा शहरभित्रका र चीनका अन्य भागमा आउने/जाने सार्वजनिक यातायात स्थगन गरिएको छ। हाल सो भाइरस चीनको अन्य भाग र विदेशमा पनि फैलिसकेको छ। हाल यो भाइरसलाई 2019 nCoV भनेर चिनिन्छ।
यो कोरोनाभाइरसको यस अघि मानवमा सङ्क्रमण गरेको नपाइएको प्रकार हो। सन् २००० को दशकको सुरुमा ८०० जनाको ज्यान लिएको सार्स भाइरस वा सामान्य रुघाखोकी पनि कोरोनाभाइरसकै सङ्क्रमण हुन्।
अधिकारीहरूका अनुसार पछिल्लो भाइरस वन्यजन्तुको अवैध कारोबार गरिने वुहानको सीफुड बजारमा पहिलोपटक भेटिएको थियो। यो वर्षको सुरुदेखि नै सो बजार बन्द छ। यो भाइरस मानिसबाट मानिसमा पनि सर्न सक्ने पुष्टि भइसकेको छ।
Facebook Comment