कोरोना भाइरसः चीनमा ज्यान गुमाएका नेपालीको शव ल्याउन समस्या
काठमाडौं। चीनमा रहस्यमयी कोराना भाइरस फैलिएपछि त्यहाँ अन्य कारणले ज्यान गुमाएका एक नेपालीको शवर नेपाल ल्याउन समस्या भएको छ।
बेइजिङस्थित नेपाली राजदूतावासको हवला दिँदै बीबीसी नेपालीले चीनको वुहान सहरमा हृदयाघातका कारण मृत्यु भएका एकजना नेपाली नागरिकको शव नेपाल पठाउन समस्या भएको जनाएको छ।
चीनको वुहानमा दोलखाका ४० वर्षीय पस्कर खड्काको हृदयघातका कारण मृत्यु भएको थियो।
नयाँ घातक भाइरस फैलनबाट रोक्न चीनले वुहानमा यातायात सेवा बन्द गरिदिएपछि गत आइतवार हृदयाघातका कारण निधन भएका खड्काको शव नेपाल ल्याउन समस्या भएको हो।
करिब १५ वर्षदेखि वुहानस्थित एउटा रेस्टुरेन्टमा कार्यरत खड्काको शव नेपाल पठाउन कानुनी प्रक्रिया सुरु भइसकेको दूतावासका अधिकारीले बताएको बीबीसी नेपाली सेवाले जनाएको छ।
कोरोना भाइरसको सङ्क्रमण चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ।
६ सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने २५ जनाको ज्यान गइसकेको छ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार हालसम्म चीनमा रहेका नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भएको सूचना आएको छैन।
दूतावासले चीनमा रहेका सबै नेपालीलाई उक्त भाइरसबाट बच्ने उपायहरू अपनाउन र आवश्यक परे सहायताका लागि सम्पर्क गर्न सूचना जारी गरेको छ।
दूतावासले बिहीवार जारी गरेको सूचनामा बेइजिङस्थित दूतावासका साथै ग्वाञ्जाओ, ल्हासा र हङ्कङस्थित नेपाली महावाणिज्य दूतावास तथा साङ्घाईस्थित अवैतनिक नेपाली महावाणिज्य दूतसँग सम्पर्कमा रहन भनिएको छ।
नेपाली दूतावासका अनुसार चीनका विभिन्न सहरहरूमा करिब ८ हजार विद्यार्थी र विभिन्न पेसा तथा व्यवसायमा संलग्न गरी करिब १२ हजार नेपालीहरू रहेका छन्।
Facebook Comment