एघार भारतीय पत्रकारलाई चार दिन नेपाल घुमाइँदै
काठमाडौं । जारी नेपाल भ्रमण वर्ष २०२० र तीन महिना पछि हुन लागेको सगरमाथा डाइलग कार्यक्रमको प्रचारका लागि नेपाल सरकारले ११ जना भारतीय पत्रकारहरुलाई नेपाल भ्रमणमा ल्याएको छ।
वीपी कोइराला फाउण्डेसनमार्फत निम्तो दिएर उनीहरुलाई हिजो जनवरी २३ मा नेपाल ल्याइएको हो। समाचार अनुसार, ४ दिनका लागि नेपाल ल्याइएका भारतीय पत्रकारहरुको दैनिक कार्यक्रमको संयोजन नेपाल भ्रमण बर्ष—२०२० को सचिवालयले गरेको छ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसंग उनीहरुले आजै भेट गर्नेछन्। भारतीय पत्रकारहरको टोलीमा प्रेस ट्रष्ट अफ इण्डियाका इन्टरनेशनल एडिटर अनील कुट्टामाथियाथु, इण्डियन एक्सप्रेसका एसोसिएट एडिटर सुभजित रोय, हिन्दुस्तान टाइम्सका फरेन एडिटर रिजुल हसन लस्कर, द वायरकी डेपुटी एडिटर देवीरुपा मित्रा, जी मिडियाका चीफ डिप्लोमेटिक , डिफेन्स करेस्पोन्डेन्ट सिद्धान्त सिब्बल, जी मिडियाकै क्यामेर पर्सन सन्जीत राउत छन्।
यसैगरी स्टेट अफ नेपाल पुस्तका लेखक तथा आउटलुक इण्डियाका प्रतिनिधि शास्त्री रामचन्द्रन, द हिन्दू का सिनियर एसिस्टेण्ट एडिटर काल्लोल कान्ति भट्टाचार्जी, एसियन न्युज इन्टरनेशनल(एएनआई) का स्पेशल करेस्पोण्डेन्ट अशोकीराज बचन यादव, एएनआईकै क्यामेर पर्सन गेरेन्दर सिंह र रिपब्लिक टीभीका प्रिन्सिपल करेस्पोण्डेन्ट पियुस मिश्रा सहभागी छन्।
सन् २०१५ को भूकम्पपछि भारत सरकारको उद्धार टोलीसहित ल्याइएका विशेषत भारतीय टीभी पत्रकारहरुले भूकम्पपछिको पीडाको संबेदनशीलतामाथि खेलबाड गरी जथाभावी समाचार र रिपोर्ट प्रसारण गर्दा नेपाली जनमानस उनीहरुप्रति आक्रोशित भएको थियो। यसपटक नेपाल सरकारकै प्रायोजनमा वीपी कोइराला फाउण्डेसनमार्फत ल्याइएका पत्रकारहरु भारतीय संचारमाध्यमका उच्च ओहदाका समेत भएकाले भिजिट नेपाल अभियान तथा सगरमाथा डाइलगका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Facebook Comment