वडा कार्यालय बनाउन निःशुल्क जग्गादान

डिसी नेपाल
१० माघ २०७६ १०:४६

बागलुङ । गलकोट नगरपालिका–६ को भवन निर्माणका लागि स्थानीयवासीले एक रोपनी दुई आना जग्गा निःशुल्क प्रदान गरेका छन् ।

चरौँदीका मानकुमारी उप्रेती, टेकबहादुर उप्रती र तिलक उप्रेतीले करिब रु ५० लाख मूल्य बराबरको जग्गा प्रदान गरेको वडा कार्यालयले जनाएको छ।

जग्गा प्राप्तिसँगै भवन निर्माणको काम तत्कालै अघि बढ्ने वडाध्यक्ष नरबहादुर खत्रीले जानकारी दिए।

“जग्गाको नामसरी वडालाई आइसक्यो”, उनले भने, “भवन निर्माणका लागि ठेक्काको प्रक्रिया पनि टुङ्गी सकेको छ।”

वडाको भवन बनाउन चालू आवमा रु ८० लाख बजेट विनियोजन भएको छ।

आफ्नै भवन नहुँदा वडा कार्यालय हाल भाडाको कोठाबाट सञ्चालित छ। जग्गादाताले दिएको एक रोपनी दुई आना र एक रोपनी सार्वजनिक जग्गामा भवन बन्ने जनाइएको छ।

“वडा कार्यालयलाई जग्गा अभाव भएपछि हाम्रो परिवार मिलेर जग्गा दिने निर्णय ग¥र्यौँ”, जग्गादाता तिलक उप्रेतीले भने ।

मापदण्ड अनुसारको व्यवस्थित र सुविधायुक्त वडा भवन बन्नुपर्नेमा स्थानीयवासीको जोड छ।

यसअघि सोही ठाउँमा स्वास्थ्य चौकी भवनका लागि मानकुमारीले एक रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो।

थप जग्गा व्यवस्थापन गरेर स्वास्थ्य चौकी भवन निर्माणको काम अगाडि बढाउने वडाको योजना छ।

जग्गा अभावमा जिल्लाका कतिपय वडाका कार्यालय भवन, स्वास्थ्य चौकीजस्ता भौतिक संरचना निर्माणमा ढिलाइ भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *