व्यावसायी समृद्ध नभएसम्म मुलुक समृद्ध हुन सक्दैन : राज्यमन्त्री दुगड

डिसी नेपाल
१० माघ २०७६ १४:३४

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले उद्यमी व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन्।

‘नेपाली उत्पादनहरुको बिक्री तथा निर्यात र महिला उद्यमीहरुका अवसर र चुनौती’ विषयमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उद्यम व्यवसाय गर्नेहरु आफ्नो कामबाट सन्तुष्ट नभएसम्म देशमा समृद्धि नआउने बताएका हुन्।

उनले भने, ‘उद्यमी व्यवसायीहरु जवसम्म समृद्ध हुन सक्दैनन्, तबसम्म यो देश समृद्ध हुन सक्दैन, सबैभन्दा पहिला महिलाहरु समृद्ध हुन पर्यो देशका उद्यमी व्यवसायीहरु समृद्ध हुन पर्यो अनिमात्रै देश समृद्ध हुन्छ।’

उनले आफू उद्यमी समेत भएकाले उद्यमी व्यवसायीहरुको सबै समस्याको अन्त्य गर्न काम गरिरहेको बताए। त्यसका लागि मन्त्रालयमा एकद्वार प्रणालीमार्फत काम भइरहेको उनले बताए। उनले उद्यमी व्यवसायीहरुलाई सबै समस्या मन्त्रालयमा आएर बताउन समेत आग्रह गरे। उनले महिला उद्यमीहरुका लागि छुट्टै व्यवास्था गरेर सहयोग गर्न मन्त्रालयले योजना बनाइरहेको जानकारी समेत दिए।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सानो सानो कृषि गरेर देश समृद्ध हुन नसक्ने बताए। उनले भने, ‘पाँचवटा बाख्रा पालेर मुलुकको समृद्धि हुनेवाला छैन्, २ वटा भैंसि पालेर मुलुकको समृद्धि हुने वाला छैन।’

उनले उद्यमी व्यवसायीहरुले कृषिमा लगानी गर्ने भन्दै सरकारी अनुदानको कर्जा तथा पुर्नकर्जा लगेर खेत किन्ने केही समय धान लगाउने र पाँच दश वर्षमा डबलमा विक्री गर्ने प्रवृतिले पनि देश समृद्ध हुन नसकेको बताए।

डेपुटी गभर्नर शिवाकोटीले उद्यमशिलता विकासमा महिलाहरुको योगदान बढी होस भन्ने उद्देश्यले जागरण र जागृति ल्याउनुपर्नेमा जोड दिए। उनले बैंकहरुले पनि महिलाहरुलाई लक्षित गरि कर्जा दिँदै आएकाले त्यसको फाइदा लिन आग्रह गरे। उनले बैंकहरुले सहुलियत दरमा कर्जा नदिए राष्ट्र बैंकले कारबाही गर्ने बताए।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले सरकारले महिलाहरुलाई सहज कर्जा उपलब्ध गराउने नीति लिएपनि बैंकहरुले कर्जा नदिएको बताए।

उनले महासंघले महिलाहरुलाई सहज होस भन्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको तर ४० वटा फाइल बुझाएको चार महिना हुँदा समेत कर्जा नदिएको बताए।

कार्यक्रममा महिलाहरुको उद्यमशिलता विकासमा सरकारले अझबढी कार्यक्रमहरु लयाउनु पर्नेमा जोड दिइएको थियो। त्यस्तै बैंकहरुबाट सहज रुपमा कर्जा उपलब्ध गराउनेदेखि बजारीकरणमा मन्त्रालयले सहयोग गर्नुपर्नेमा उद्यमीहरुले जोड दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *