देउवा–पौडेल–सिटौलाबीच सहमति, केन्द्रीय कार्य समिति बैठक बोलाइयो

डिसी नेपाल
१० माघ २०७६ १७:२९

काठमाडौं। विगत एक महिनादेखि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा देखिएको आन्तरिक विवाद समाधान भएको छ। सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार भएको बैठकपछि सहमति भएको नेताहरुले बताएका छन्।

नेताहरुबीच सहमति भएसँगै पार्टीको केन्द्रीय कार्य समिति बैठकसमेत बोलाइएको छ। पार्टी कार्यालयका मुख्यसचिब कृष्णप्रसाद पौडेलले आगामी सोमबारका लागि केन्द्रीय कार्य समिति बैठक बोलाइएको जानकारी दिए।

नेताहरुबीच सहमति भएपछि बैठक बोलाइएकाले यसअघि बहिस्कार गर्दै आएको पौडेल–सिटौला समूह पनि आगामी सोमबारको बैठकमा सहभागी हुने भएको छ। पौडेल निकट एक नेताले डिसी नेपालसँग भने, ‘सबै बसेर बैठक बोलाइएको हो, त्यसैले हामी पनि अब बैठकमा जान्छौं।’

स्रोतका अनुसार गएको पुस ११ गतेको बैठकले तोकेको आगामी महाधिवेशनको कार्या तालिका संशोधन गर्न सभापति देउवा तयार भएपछि विवाद समाधान भएको हो। महाधिवेशनबारे कार्यतालिका र कार्यविधी बनाउन एक कार्यदल बनाउने सहमतिसमेत भएको जनाइएको छ। सो कार्यादलले बनाएको कार्यविधी र कार्य तालिकाअनुसार महाधिवेशनको मिति तय हुनेछ।

स्रोतले महाधिवेशनको मिति परिवर्तन नहुने तर, जिल्ला, स्थानीय तहको अधिवेशनको मिति परिवर्तन हुने बताएको छ। यस्तै कार्यविधी बनाएर क्रियाशील सदस्यता वितरण तथा छाविनलाई पारदर्शी बनाउने र महाधिवेशन ‘फेयर’ बनाउने प्रतिवद्धता सभापति देउवाले गरेपछि पौडेल र सिटौलाले सहमति जनाएको बताइएको छ।

यस्तै नेविसंघ गठनमा पनि मोटामोटी सहमति भएको जनाइएको छ। तर, तरुण दलबारे भने ठोस सहमति नभएको बताइएको छ। देउवाले तरुण दलका महामन्त्री भुपेन्द्र शाहीलाई हटाउने र नयाँ बनाउने प्रस्ताव गरेका छन् भने पौडेलले हटाए सबैलाई हटाउने नहटाए कसैलाई नहटाउने अडान राखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *