चीनको चमत्कार ! कोरोना भाइरसको उपचारका लागि विशेष अस्पताल १० दिनमै बनाउँदै
वुहान। चीनले कोरोना भाइरको प्रकोपबाट बच्नको लागि तयारी तीब्र पारेको छ । सबैभन्दा धेरै प्रभावित शहर वुहानको प्रशासनले केवल १० दिनमै एक विशेष अस्पताल बनाउन निर्देशन दिएको छ । यसको निर्माण कार्य सुरु भइसकेको छ ताकि समयमै उपचार सुरु गरेर यो घातक रोगलाई फैलिनबाट रोक्न सकियोस् ।
यो भाइरसको संक्रमणबाट अहिलेसम्म ४१ जनाको मृत्यु भइसकेको छ । १ हजारभन्दा बढी संक्रमित पाइएका छन् । २५ हजार वर्ग मिटरको क्षेत्रमा बन्न सुरु भएको यो अस्पतालमा ३ फेब्रुअरीदेखि उपचार सेवा सुरु हुनेछ । स्थानीय मिडियाका अनुसार प्रशासनले सरकारी निर्माण कम्पनीलाई क्याडियन जिल्लामा बन्ने आकस्मिक अस्पतालको डिजाइन गर्ने र बनाउन जिम्मेवारी दिएको छ ।
रिपोर्टका अनुसार चाइना कन्स्ट्रक्सन थर्ड इन्जिनियरिङ ब्यूरोले शुक्रबार अस्पतालको डिजाइन सकेर निर्माण कार्य सुरु गरिसकेको छ । अस्पताल २ तले हुने बताइएको छ । वुहानका स्वास्थ्य अधिकारीहरुका अनुसार बिरामीहरुको संख्या बढिरहेको छ । भविष्यमा विरामीहरुको लामो लाइन हुन सक्छ यस्तो स्थितिमा अस्पतालहरुमा बेडको कमी हुनेछ ।
यसअघि सार्स भाइरसका कारण सन् २००२–२००३ मा चीन र हङकङमा लगभग ६५० जना मारिएका थिए । त्यतिबेला पनि ६ एकडमा केवल ७ दिनमा एक अस्थायी स्वास्थ्य केन्द्र बनाइएको थियो । यसमा १ हजार बेडको व्यवस्था गरिएको थियो । यसमा करिब ७ हजार निर्माण व्यवसायीले सहयोग गरेका थिए ।
कोरोना भाइरसको पहिलो केस ३१ डिसेम्बरमा वुहान शहरमा भेटिएको थियो । यो भाइरस सार्सजतै भएका कारण खतरा बढी छ । बिहीबार बिहानदेखि वुहानबाट बाहिर जाने सबै उडान र ट्रेनलाई बन्द गरिएको छ । चीनका अधिकारीहरुले हुआनगांग र इझोउमा पनि यात्रामा प्रतिबन्ध लगाएका छन् । दुवै शहरमा सार्वजनिक यातायात र ट्रेन रोकिएका छन् ।
Facebook Comment