अबको युग प्राविधिक शिक्षाको युग : पूर्वराष्ट्रपति यादव

डिसी नेपाल
११ माघ २०७६ २१:०१

मध्यपुरथिमि । पूर्वराष्ट्रपति डा रामवरण यादवले अबको युग प्राविधिक शिक्षाको युग भएको बताएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित चाँगुनारायण माध्यमिक विद्यालयमा शनिबारबाट शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले प्राविधिक शिक्षा र सीपले मात्रै रोजगारी वृद्धि गर्ने बताए ।

सामुदायिक विद्यालय तथा कलेजको शिक्षा गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै उनले शिक्षा गुणस्तरीय बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । कूल ८० प्रतिशतभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालय तथा कलेजमा पढ्ने भए पनि ८५ प्रतिशत सामुदायिक विद्यालय तथा कलेजको शिक्षाको गुणस्तर राम्रो नभएको उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति डा.यादवले किसान तथा मजदुरका छोराछोरी पढ्ने सामुदायिक विद्यालयको शिक्षाको सुधारबिना देश विकास हुँदैन भन्दै नेपालको विश्वविद्यालयको शिक्षाको गुणस्तरसमेत निकै खस्किएको भनाइ राखे ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले चाँगुनारायण नगरपालिकाको नमूनाको रुपमा अगाडि बढेको चाँगुनारायण माध्यामिक विद्यालयलाई प्राविधिक विषयको नमूनाको विद्यालय बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले सङ्घ, प्रदेश र स्थानीय तहको आवश्यक समन्वय गरी विद्यालयको विकासका लागि आर्थिक सहयोग र अन्य सहयोगका लागि पहल गर्ने उनले बताए ।

वाग्मती प्रदेशका सदस्य कृष्णलाल भँडेलले संसद् विकास कोषबाट चाँगुनारायण माविलाई १० लाख आर्थिक सहयोग दिने प्रतिबद्धता जनाए । विद्यालयका प्रधानाध्यापक दधिराम गेलालले विद्यार्थीलाई समयसापेक्ष प्राविधिक शिक्षासमेत दिने उद्देश्यले एक करोड सङ्कलन गर्ने लक्ष्यसहित महायज्ञ शुरु गरेको बताए । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले विकास, शिक्षा र स्वास्थ्यमा राजनीतिभन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *