कोरोना भाइरस नेपालमा भेटियो , सचेत रहन आग्रह

डिसी नेपाल
१२ माघ २०७६ ७:०८

काठमाडाैं। नेपालमा पनि कोरोना जिवाणु (भाइरस) भित्रिन सक्ने जनाउँदै स्वास्थ्य क्षेत्रका विज्ञले सचेत हुन आग्रह गरेका छन्। शनिबार आयोजित साक्षात्कारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा भएकाले सतर्क हुन सबैलाई अपिल गरे।
चीनबाट नेपाल फर्किएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण हुँदा सो भाइरसको सङ्क्रमण भेटिएको जनाइएको छ। भाइरस सङ्क्रमित बिरामी आउनसक्ने स्थानमा तयारी र सतर्कता अपनाइएको छ।

त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने शङ्कास्पद बिरामीको निगरानी भइरहेको पनि मन्त्रालयले जनाएको छ। उनले भने, “कोरोना भाइरस अध्ययनको विषय बनेको छ, तर धेरै भयावह स्थिति छैन।”

प्रवक्ता श्रेष्ठले चीनमा कोरोना भइरसबाट सङ्क्रमण भएकामध्ये तीनदेखि चार प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गरे। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तयारी अवस्थामा राखिएको जनाइएको छ।

अस्पतालका निर्देशक डा वासुदेव पाण्डेले सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिए। सरुवा रोग विशेषज्ञ चिकित्सक डा शेरबहादुर पुनले कोरोना भाइरस जनावरबाट सर्ने भएकाले मासु खाँदा राम्रोसँग पकाएर खान सुझाव दिए। उनले भने, “कोरोना भाइरस आफैँमा नयाँ रोग होइन, यसपटकको भाइरस नयाँ प्रजाति हो।”

यसैबीच चीनको ख्हबेई प्रान्तमा कोरोनाभाइरसका कारण थप १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। यो सँगै हालसम्म चीनमा उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ।

त्यस्तै भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ हजार २ सय ८७ पुगेको छ। चीनमा नयाँ वर्षको आगमन हुँदै छ। तर भाइरसका कारण त्यहाँ थुप्रै कार्यक्रमहरू रद्द गरिएका छन्।

वुहान सहरमा नयाँ अस्पताल निर्माण गरिँदै छ। कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ। फ्रान्समा तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ।

चिनियाँ सञ्चार माध्यमहरूका अनुसार एक हजार शैया रहने भनिएको नयाँ अस्पताल छ दिनभित्र तयार भइसक्ने सम्भावना छ। त्यसका लागि धमाधम काम भइरहेको बताइएको छ।

यो परियोजनाले “हाल विद्यमान स्रोतहरूको अभावलाई सम्बोधन गर्ने छ” र यो “छिट्टै बन्नुका साथै धेरै लगानी लाग्ने छैन किनकि यो प्रिफ्याब भवन हुने छ,” चान्गजीयाङ पत्रिकामा भनिएको छ।

के हाे काेराेना भाइरस ?

चीनको वुहान प्रान्तमा पत्ता लागेको कोरोना भाइरस श्वाप्रश्वाससम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने एक प्रकारको भाइरस हो । याे भाइरस पहिलाे पटक वुहानकाे सी फुड मार्केटमा देखिएकाे थियाे । विज्ञानलाई समेत अहिलेसम्म थाहा नभएको यो भाइरसले चीनमा फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको छ ।

वैज्ञानिकहरूले काेराेना भाइरसलाई २०१९–एन सीओभी नाम दिएका छन् । याे भाइरस कोरोना वर्गको नयाँ प्रजाति भएको ठानिएको छ, जुन यसअघि मानिसमा फेला परेको थिएन । सन् २००० को दशकको शुरूवाततिर संसारभरी झन्डै ८०० मानिसको ज्यान लिएको सार्स भाइरस पनि एक प्रकारको कोरोनाभाइरस नै थियो ।

कोरोना भाइरस जनावर र मानिसबीच सर्ने भाइरस हो । तर अहिले याे भाइरस मानिसबाट मानिसमा पनि सर्ने पुष्टि भइसकेकाे छ । मिडिया रिपाेर्ट अनुसार अहिले देखिएकाे याे काेराेना भाइरस सर्पबाट मानिसमा सरहेकाे हाे ।

२४ जनवरीसम्ममा यो भाइरसको संक्रमणबाट २५ जनाको मृत्यु भएको पुष्टि भएको छ । चीन बाहेक अमेरिका, हङकङ, थाइल्याण्ड, जापान र दक्षिण कोरियामा समेत यो भाइरसको संक्रमण फैलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

लक्षणहरू कस्ता हुन्छन् ?

यो भाइरसको संक्रमण भएमा ज्वरो आउने, कसैकसैमा श्वास प्रश्वासमा समस्या आउने र निमोनियाको लक्षण देखिने गर्छ । यो भाइरसले फोक्सोको ठूलो भागमा संक्रमण गराई निमोनियाको विकास गर्छ ।

अन्य संक्रमणमा भन्दा कोरोना भाइरसमा निमोनिया गराउन सक्ने क्षमता बढी हुन्छ । जनावरबाट सर्ने भनिएको यो भाइरस अहिले मानिसबाट मानिसलाई सर्ने भनिएको छ ।

पेकिङ्ग जर्नल अफ मेडिकल भाईरोलोजीमा प्रकाशित अनुसन्धान रिपोर्ट अनुसार चीनको वुहानमा देखिएको नयाँ कोरोना भाइरस सर्पबाट मानिसमा सरेको हो ।

चिकित्सकहरुका अनुसार कोरोनाभाइरसको सङ्क्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्छ । केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ । तर कैयौँ अवस्थामा यस्ता लक्षण नदेखिएका बिरामीमा पनि भेटिने गरेको विज्ञहरू बताएका छन् ।

एडिनबरा विश्वविद्यालयका प्राध्यक मार्क वुलहाउसका अनुसार अहिले देखिएका बिरामीमा रुघाखोकीको जस्तै लक्षण देखिन्छन् र त्यो चाहिँ चिन्ताको विषय हो । तर यो सङ्क्रमण सार्सको सङ्क्रमण जति गम्भीर प्रकृतिको नहुने उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *