कविता – ‘देश जति ठूलो हुन्छ’
कविता
‘देश जति ठूलो हुन्छ’
देश जति ठूलो हुन्छ
त्यति धेरै मानिसको हूल हुन्छ
त्यही मानिसहरुको भिँडमा
हरेक एक एक मानिसले
आफूलाई एक्लो महसुस गरिरहेको हुन्छ ।
त्यही ठूलो देशमा
यस्तो प्रणाली हुन्छ की
त्यो प्रणालीले
परिवार परिवारलाई टुक्राइरहेको हुन्छ
परिवारबाट एउटा एउटा व्यक्तिमा
हामी हाम्रो हामी सबैकोलागि
म मेरो मेरो निम्ति मात्रमा ।
त्यसैले त कलेज यूनिभर्सिटि पढ्न
हुर्केका छोरा छोरी हिँड्छन्
बाबु आमाबाट टाढा टाढा
अन्त कतै आफूमात्र भएर हाँस्न
आफूमात्र भएर बाँच्न
बाबु आमाको मायाको घेरा पार गरेर
ढुँगामुडा माथी मन गए जस्तो ।
अनेक चिट्ठी आउछ कम्पनिको
फोन आउछन्
फकाउछन्
अलग गरिदिन परिवारको सदस्यलाई
इन्सुरेन्स अलग
ब्यांक एकाउन्ट अलग
बिजुली पानीको बिल अलग
सेल फोनको बेग्ला बेग्लै एकाउन्ट
समाज, साथीभाई, नातागोता र परिवार
सबैबाट अलग्गिएर
एक्लै एक्लै
आफ्नो सेलफोनको सानो परिधिभित्र
औँला, आँखा र मनलाई सिमीत पारेर
आफू मात्रै जिइरहेको अनौठो संसार ।
एउटै घरमा बसेका लोग्नेस्वास्नी पनि
अपरिचित जस्तो
होटेलमा खाएको बिल अलग
किनमेलको तिरोको रीसीट अलग
क्रेडीटकार्ड अलग अलग
टेलिभीजनको च्यानल अलग
यस्तो कि सबै चीजबीज
आफ्नो आफ्नो पेवा मात्र
पैसाले नै अलग गरिदिएको
तेरो र मेरो पारिदिएको ।
वृद्ध आमाबुबा पनि
पैसा तिर्न सकुन्जेल सिनियर होममा
पैसा सकिनासाथ फुटपाथमा
आफ्ना छोराछोरी नाती नातीनिलाई सम्झिदै
उनिहरूको बाल्यापनसंग रमाउदै
एक एक पल उनिहरुकै मायालाई मुटुमा गाँठो पारेर ।
इ. राकेश कार्की, लस एन्जेलस
Facebook Comment