व्यवसायीलाई अर्थमन्त्रीको आग्रह : सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान नआत्तिनोस्
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धानबाट नआत्तिन निजी क्षेत्रका व्यवसायीलाई आग्रह गरेका छन्। सरकारका कारण व्यवसायीक वातावरण विग्रेको आरोप लागेपछि उनले सरकारले अनुसन्धान गर्दैमा अनावश्यक डर नपाल्न अनुरोध गरेका हुन्।
‘सरकारले सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान गर्दैमा निजी क्षेत्रका व्यवसायी आत्तिएको पाए’ आइतबार ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले भने, ‘ असल काम गर्ने साथीहरु आत्तिनु पर्दैन, गलत ठाउँमा मात्रै डण्डा चल्छ ।’
अर्थमन्त्री खतिवडाले राजश्व लक्ष्य पुर्याउनकै लागि व्यवसायीमाथी अनावश्यक दवाव सिर्जना नगर्ने समेत बताए। व्यवसायीहरू आयात धेरै भयो, राजस्व पुगेन भन्ने चिन्ता पनि लिनुहुन्छ,’ उनले भने, ‘यो सबै चिन्ता लिन छोडिदिनुस्, राजश्व लक्ष्य पुर्याउनका लागि निजी क्षेत्रमाथी डण्डा चलाउँदिन।’
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भन्सार कार्यालयहरु राजश्वमुखी मात्र नभई व्यवसाय मैत्री हुनुपर्ने आवश्यक्ता औंल्याइन्। उनले भन्सार कार्यालयहरुमा भएको सुधारको समेत प्रशंसा गरिन्। नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले भन्सारमा अझै मूल्यांकनमा समस्या रहको र त्यसको असर चोरी निकासी बढेको बताए।
Facebook Comment