न्यूजिल्याण्डविरुद्धको टि–२० सिरिजमा भारतको २–० को अग्रता

एजेन्सी। भारत र न्यूजिल्याण्डबीच जारी पाँच खेलको टी–२० क्रिकेट सिरिजमा भारतले २–० को अग्रता लिएको छ । आज भएको दोस्रो टि–२० मा भारत ७ विकेटले विजयी भएको हो । न्यूजिल्याण्डले दिएको १३३ रनको लक्ष्य भारतले १७.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको हो ।
अकल्याण्डको इडेन पार्कमा टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि मार्टिन गुप्टिल र टीम शिफर्टले समान ३३–३३ रन जोडे । यस्तै कोलिन मुनरोले २६, रोस टेलरले १८ रन र कप्तान केन विलिम्सनले १४ रनको योगदान दिए । बलिङतर्फ भारतका रवीन्द्र जडेजाले दुई तथा शार्दुल ठाकुर, जसप्रीत बुमराह र शिवम् दुवेले एक–एक विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको भारतले १७.३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो । भारतका लागि केएल राहुलले नटआउट ५७ रन बनाए । श्रेयस अय्यरले ४४, कप्तान विराट कोहलीले ११, रोहित शर्माले ८ र शिवम् दुवेले नटआउट ८ रन बनाए । न्यूजिल्याण्डका लागि टिम साउदीले २ र इश सोढीले १ विकेट लिए । सिरिजको पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।
Facebook Comment