उचित मूल्य नपाउँदा उखु किसान मर्कामा
चन्द्रौटा । कपिलवस्तुमा सुगर मिल नहुँदा सरकारले तोकेको उखुको मूल्य किसानले पाउन सकेका छैनन् । शिवराज नगरपालिका–७ जवाभारीमा लामो समयदेखि सञ्चालनमा रहेको महालक्ष्मी सुगर मिल अन्यन्त्र सरेपछि कपिलवस्तुका उखु किसान चिन्तित बनेका छन् ।
जिल्लाको पश्चिमी क्षेत्रमा एक याममा करिब २० क्विन्टल उत्पादन हुने उखु यस वर्ष आधाभन्दा कम उत्पादन भएको कपिलवस्तु उखु किसान सङ्घले जनाएको छ । मुख्य आम्दानीको स्रोत रहेको उखुलाई सरकारले तोकेभन्दा कम मूल्यमा बेच्नुपर्ने बाध्यताले किसानले उखु उत्पादन गर्न छाडेका छन् । जिल्लामा उत्पादन हुदाँहुँदै पनि मिल अन्यन्त्र स्थानतरण गर्दा किसान मर्कामा परेको सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताए। “किसानलाई समस्या छ, अहिले पनि ३०० प्रतिक्विन्टल बेच्नुपरेको छ, यसरी किसानको लगानी पनि उठदैन्”—चौधरीले भने । सरकारले किसानलाई दिन प्रतिदिन समस्यमा पार्दै गएको चौधरीको भनाइ छ ।
उखु उत्पादन हुने याममा क्रसिङहरुले मनपरी गर्ने गरेका छन् । गुड क्रसिङहरुले प्रतिक्विन्टल ३०० का दरले उखु खरिद गर्ने गरेको किसान पुजारीप्रसाद चौधरीले बताए । “१० बिघामा उखु लगाएको भए पनि अहिले बेच्दा लगानी उठेको छैन, तर बेच्न बाध्य छौँ”, चौधरीले भने । स्थानीय ओमप्रकास चौधरीले आउँदो वर्षदेखि उखु नलगाउने बताए। “सरकारले ५३६ रुपैयाँ तोकेको छ यहाँ हामीले ३०० रुपैयाँभन्दा कममा बेच्नुपर्छ” उनले भने । पाँच वर्ष अघि सरकारले दिने भनेको अनुदान अहिलेसम्म नपाएको भन्दै उनले सरकार किसानको पक्षमा नभएको गुनासो गरे।
जिल्लाको शिवराज नगरपालिकामा मात्र तीन दर्जन बढी गुड क्रसिङ सञ्चालनमा छन् । ती क्रसिङले किसानबाट सस्तो मूल्यमा उखु खरिद गर्दै आएका छन् । सरकारले सुगर मिलको लागि मात्र उक्त मूल्य तोकेको बताएको थियो । पहिलेको तुलनामा कपिलवस्तुमा उखु उत्पादनमा कमी हुँदै गएको छ । अहिले किसानले जग्गा बाँझो राख्न थालेका छन् । गतवर्ष किसानले उखु नवलपरासी पठाउने भने पनि उचित मूल्य नपाउँदा पठाएनन् । जिल्लाका किसानले सरकारबाट पाउनुपर्ने साढे दुई करोड अनुदान नपाउँदा विभिन्न समयमा आन्दोलित हुँदै आएका छन् ।
Facebook Comment