कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, असन्तुष्ट पक्ष पनि सहभागी हुने

डिसी नेपाल
१३ माघ २०७६ ९:११

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज साेमबार बस्दै छ। कांग्रेसको असन्तुष्ट पक्ष बैठकमा सहभागी हुने भएको छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ।

सभापति शेरबहादुर देउवा गत पुस ११ गतेको बैठकले बहुमतका आधारमा गरेका विभिन्न निर्णयहरू सच्याउन तयार भएपछि असन्तुष्ट समूह सोमबारको बैठकमा सहभागी हुने भएको हो।

सभापति देउवाले पार्टीका आन्तरिक विवाद मिलाएर अगाडि बढ्ने प्रतिबद्धता जनाएकाले सोमबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने संस्थापन इतर समूहका नेताहरूले बताएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको मिति यथावत राखेर अन्य निर्णयहरू सच्याउन संस्थापन पक्ष तयार भएका कारण बैठकमा सहभागी हुने प्रतिक्रिया दिएका छन्।

गत पुस ११ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतबाट १४औं महाधिवेशनको कार्यतालिकासहितको मिति तय गरेको थियो। यस्तै, बैठकले महाधिवेशन प्रयोजनका लागि सदस्यतासम्बन्धी व्यवस्था भएका विधानका धारा निलम्बन गर्दै, पार्टीका केन्द्रीय विभागको संख्या बढाएर २८ बाट ७४ बनाउने, भ्रातृ संगठन नेपाल तरुण दलको म्याद ६ महिना थप्ने पनि निर्णय गरेको थियो।

सभापति देउवाले इतर समूहको बहिष्कारबीच बहुमतीय प्रक्रियामा गएर केन्द्रीय कार्यसमिति बैठकबाट एकलौटी निर्णय गरेको भन्दै वरिष्ठ नेता पौडेलको समूह असन्तुष्ट बनेको थियो। पौडेल समूहलाई कांग्रेसको कान्छो धारका रूपमा रहेको सिटौला समूहले पनि साथ दिएको थियो। दुवै समूहले पुस ११ गते बहुमतबाट गरिएका निर्णय सच्याउनुपर्ने माग राख्दै आएका थिए।

त्यसअघि पौडेल समूहले गत मंसिर २६ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठक लगातार बहिष्कार गर्दै आएका थियो। सभापति देउवा महाधिवेशनको कार्यतालिकाको एजेण्डा छलफलका लागि बैठकमा पेश नगर्ने मनस्थितिमा देखिएपछि उक्त समूहले बैठक बहिष्कार गरेको थियो।

पौडेल समूहलाई रिझाउन संस्थापन पक्षले पटकपटक केन्द्रीय कार्यसमिति बैठक स्थगित गरे पनि सहमति जुट्न भने सकेको थिएन। पौडेल–सिटौलाले लगातार बैठक बहिष्कार गर्दै गएपछि सभापति देउवाले पुस ११ गते बहुमतका आधारमा निर्णयहरू गरेका थिए।

देउवाले बहुमतको दम्भमा एकलौटी निर्णय गरेको भन्दै पौडेल समूह चिढिएको थियो। उक्त समूहले सभापति देउवाविरुद्ध काठमाडौंमा जिल्ला सभापतिहरूको भेलासमेत बोलाएका थियो। भेलाले नेतृत्वलाई पार्टीमा विद्यमान भागबण्डाको अन्त्य गर्दै पछिल्लो विवाद समाधान गरेर अगाडि बढ्न सुझाव दिएको थियो।

जिल्ला सभापतिहरूकै सल्लाहबमोजिम सभापति देउवा केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरू सच्याउन सकारात्मक भएका थिए । यसबीचमा उनले वरिष्ठ नेता पौडेल र नेता सिटौलालाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाएर समस्या समाधानको पहल गरेका थिए।

पछिल्लोपटक गत शुक्रबार बूढानीलकण्ठमा बसेको ५ घण्टा लामो बैठकमा देउवाले महाधिवेशनको मिति यथावत राखेर अन्य विषय सच्याउन आफू तयार रहेको बताएका थिए। उनले बैठकबाट केन्द्रीय कार्यसमितिले बहुमतले गरेका निर्णय सच्याएर सर्वसम्मतिमा पारित गर्न महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखक तथा पौडेल समूहबाट महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य मीनेन्द्र रिजाल रहेको कार्यदल गठनसमेत गरेका थिए।

कार्यदलले सोमबार बोलाइएको केन्द्रीय कार्य बैठकमा सहमतिको ‘स्पिरिट’ अनुसारको खाका पेस गर्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *