उत्तर कोरियाका नेता किम जोङकी फुपू ६ वर्षपछि सार्वजनिक समारोहमा देखिईन्

डिसी नेपाल
१३ माघ २०७६ १०:०६

बीबीसी । उत्तर कोरियाका नेता किम जङ-अनकी फुपू छ वर्षपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेकी छन्। उनका पतिलाई सन् २०१३ मा मृत्युदण्ड दिइएको थियो। किम ग्युङ-ही उत्तर कोरियाका संस्थापक किम इल-सङकी छोरी तथा किम जङ‍-इलकी बहिनी हुन्।

विश्वासघात गरेको आरोपमा उनका पति चाङ सङ-थेइकलाई मृत्युदण्ड दिइएपछि उनलाई बाहिर देखिएको थिएन। आइतवार सरकारी सञ्चारमाध्यममा नयाँ वर्षको समारोहमा उनी सहभागी भएको देखिने एउटा तस्बिर सार्वजनिक गर्‍यो।

उत्तर कोरियाली समाचारसंस्था केसीएनएले सार्वजनिक गरेको उक्त तस्बिरमा किम ग्युङ-हीलाई प्योङ्याङमा आयोजित एउटा कार्यक्रममा उत्तर कोरियाली नेता किम र उनी पत्नीसँगै बसेको देखिन्छ। उक्त कार्यक्रममा उपस्थित उच्च पदस्थ व्यक्तिको सूचीमा उनको नाम पनि समाविष्ट थियो।

उत्तर कोरियामा आयोजना हुने कार्यक्रमबारे समाचार सम्प्रेषण गर्ने एनके न्यूजका सम्पादक ओलिभर हदमले उनको उपस्थितिलाई ‘आश्चर्यजनक’ मानेका छन्। उनले समाचारसंस्था रोएटर्सलाई भने, “उनका पतिको मृत्युपछि उत्तर कोरिया नियाल्ने धेरै व्यक्तिले किम ग्युङ-ही प्रवासमा गएको वा उनको पनि हत्या भएको अनुमान गरेका थिए।”

नेता किमसँगै उनलाई देखिनुले उनी पुन: प्रभावशाली भएको र उनले सम्भवत: सल्लाहकारको भूमिका पाएको सङ्केत गरेको होदमले बताए। “यसले उत्तर कोरिया कति निर्मम छ भन्ने पनि स्मरण गराउँछ। अन्तत: उनी आफ्ना पतिलाई मृत्युदण्डको आदेश दिने व्यक्तिसँगै बसिरहेकी छन्,” उनले भने।

एक दशकअघि भदाहा किम जङ-अनले सत्तारोहण गर्दा किम ग्युङ-ही र चाङ सङ-थेइक उत्तर कोरियाको राजनीतिमा महत्त्वपूर्ण पात्र थिए।आफ्ना पिताको मृत्यु भएपछि किम सन् २०११ मा उनको उत्तराधिकारी बनेका थिए। चाङलाई किमका मार्गदर्शक मानिन्थ्यो र उनी किमपछि दोस्रा शक्तिशाली व्यक्ति थिए।

तर दुई वर्षपछि जाङलाई एउटा बैठकबाट नाटकीय रूफमा सशस्त्र सुरक्षाकर्मीहरूले बाहिर निकाले। आधिकारिक विज्ञप्तिमा उनले राज्यविप्लवको षड्यन्त्र गरेको स्वीकार गरेको र उनलाई तत्कालै मृत्युदण्ड दिइएको उल्लेख गरियो। धेरै पर्यवेक्षकले किमले चाङलाई आफ्ना लागि खतरा ठानेको र उनलाई हटाउन त्यसो भनिएको अनुमान गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *