‘मिस नेपालमा जानुभन्दा धेरै अघिदेखिको सपना नै हिरोइन हुने थियो’

डिसी नेपाल
१३ माघ २०७६ १२:४४

काठमाडौं। पूर्व मिस नेपाल निकिता चाण्डकको सपना पूरा हुँदैछ, हिरोइन् हुने सपना। हिरोइन् भएर पर्दामा देखिने सपना।

उनको अभिनय रहेको पहिलो फिल्म ‘साङ्लो’ यही माघ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्ममा एक्सन स्टार विराज भट्ट र निकिताको जोडी बाँधिएको छ।

मिस नेपाल भन्दा पनि हिरोइन बन्ने निकिताको पहिल्यैदेखिको सपना थियो। ‘मिस नेपाल हुने मेरो पहिल्यैदेखिको सपना थिएन, अभिनय क्षेत्रमा आउन मिस नेपालमा गएकी थिएँ’ –निकिता सुनाउँछिन्। यद्यपि, उनले साइन गरेको पहिलो फिल्म ‘रानी महल’ बन्दा बन्दै रोकिएको थियो। जसबाट निराश निकितालाई हिरोइन लिएर विराजले फिल्म ‘साङ्लो’ बनाए।

निकिताको आशा छ, यो फिल्मबाट करिअरको सुःखद सुरुवात गर्ने। अहिले उनको दौडधुप पनि बढेको छ। मुटुको चाल अनि उत्साह उत्तिकै बढ्दो छ। यता डर पनि कताकता देखिँदैछ। ‘सात–आठ वर्षदेखि बोकिराखेको सपना पूरा हुँदैछ, त्यसैले उत्साहित छु’ निकिताले भनिन् ‘दर्शकको कस्तो प्रतिक्रिया आउला भन्ने कताकता डर पनि लागिरहेको छ।’

यद्यपि गीत र ट्रेलरबाट फिल्मले जुन हाइप बनाइरहेको छ। त्यसले फिल्मप्रति दर्शकको अपेक्षा बढेको छ। सँगै निकिताको पनि। त्यो अपेक्षा पूरा होस् कामना गरिरहेकी छिन् उनी। निकितालाई विराज आफैले भेटेर फिल्मको स्किृप्ट सुनाएका थिए। निकिताले भनिन्–‘उहाँलाई भेटनासाथ निकै नै ट्यालेन्ट कलाकार भएको महशुस गरेँ।’

निकिताले कथा सुनिन्। सुन्दै उनलाई लाग्यो, यो फिल्म बनेपछि आफै हलमा गएर हेर्न मन लाग्छ होला। अनि सोँच्न पुगिहालिन, – हिरोइन् हुने सपना अब चाँही पूरा हुने भयो। यद्यपी विराज एक्सनस्टार भएको थाहा भएपनि उनका फिल्म भने कुनै पनि नहेरेको निकिताले सुनाइन्। फिल्ममा काम गर्ने फाइनल भएपछि पनि विराजको फिल्म नहेरेको निकिताको भनाई थियो।

उनले विराज भट्ट र ‘साङ्लो’ फिल्मबाट आफूले धेरै कुरा सिकेको बताइन्। ‘उहाँले काममा सहज बनाईदिनुभयो। कहिल्यै जुनियर हौ, केही आउँदैन जस्तो व्यवहार गर्नुभएन’– पर्दाका जोडी विराजको निकिताले प्रशंसा गरिन्। निकितालाई छायाँकनको क्रममा अन्य फिल्मबाट अफर आएको थियो। अहिले पनि आइरहेको छ।

भन्छिन्, –‘दर्शकले यो फिल्मलाई कस्तो प्रतिक्रिया दिनुहुन्छ? फिल्मकर्मीको प्रतिक्रिया के हुन्छ? आफैले पनि आफ्नो कामको जज गर्छु। अनि कमीकमजोरी सुधार्दै अन्य फिल्म अभिनयलाई अगाडी बढाउनेछु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *