अफगानिस्तानमा विमान दुर्घटना, तर एयर एरिनाद्वारा दुर्घटना नभएको दावी
इस्लामावाद (एजेन्सी) । अफगानिस्तानमा सोमबार एक यात्रुबाहक विमान दुर्घटनामा परेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अफगानिस्तानको घान्जी प्रान्तको देह याक जिल्लामा विमान खसेको छ । प्रान्तीय अधिकारीले स्थानीय सञ्चारमाध्यमहरुसँग विमान दुर्घटनामा परेको पुष्टि गरे पनि क्षतिबारे भने केही खुलाइएको छैन । उनले विमान खस्नासाथ आगलागी भएको समेत बताएका छन् । उनले प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुनसक्ने बताएका छन् । तर सो दुर्घटनाबारे विस्तृत विवरणहरु भने प्राप्त हुन सकेका छैंनन् ।
तर अफगानिस्तानको एयर एरिनाले भने विमान दुर्घटना नभएको जनाएको छ । एयर एरिनाले हेरात प्रान्तबाट दुईवटा उडान आफ्नो एयरलाइन्सले गरेको र दुबै सुरक्षित गन्तव्यमा पुगेको बताएको रोयर्टसले उल्लेख गरेको छ । रोयर्टसले एरिना एयरलाइन्सको हवला दिँदै कुनै विमान दुर्घटना भएको तर, सो विमान सरकारी एयरलाइन्स एयर एरिनाको नभएको जनाएको छ ।
यसैबीच समाचार एजेन्सी एएफपीका अनुसार इरानी यात्रुबाहक विमान बान्दर–ए–मासार विमानस्थलमा सोमबार अवतरण गर्नेक्रममा उछिट्टिएर नजिककै सडकमा आकस्मिक अवतरण गरेको इरानी अधिकारीहरूले बताएका छन् । राज्य सञ्चालित टेलिभिजनले स्थानीय अधिकारीहरूको भनाइ उद्धृत गर्दै विमानमा सवार यात्रुसमेत चालक दलका सबै सदस्य सकुशल रहेको जनाएको छ ।
खुजेस्तान प्रान्तका नागरिक उड्डयन सेवाका प्रमुख मोहमड्रेजा रेजाइयाले विमानका पाइलटले विमानस्थलमा विमान ढिला अवतरण गराएका कारण विमान अनियन्त्रित भएको बताएका छन् । इरानको क्यास्पियन एयरलाइन्सको स्वामित्वमा रहेको म्याकडोनल डग्लस विमान राजधानी तेहरानको मेहराबाद बिमानस्थलबाट उडेको थियो । विमानमा १३५ जना यात्रु र चालक दलका सदस्य थिए । टेलिभिजनले विमानका सबै यात्रु सुरक्षित रहेको जनाएको छ । विमानमै यात्रारत टेलिभिजनका पत्रकारले सडकमा विमान अवतरण गर्नेक्रममा विमानका पाङ्ग्राहरू फुटेको बताए ।
इरानी नागरिक उड्डयन संस्थाले विमान दुर्घटनाका बारेमा छानबिन शुरु गरिसकेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आर्थिक नाकाबन्दी लगाएपछि विश्वका चर्चित विमान कम्पनीहरू एयरबस र बोइङलाई आफ्ना जहाज इरानलाई बिक्री गर्न प्रतिबन्ध लागेको छ । प्रतिबन्धहरूका कारण इरानी हवाई सेवा असुरक्षित रहेको आरोप लाग्दै आएको छ ।
Facebook Comment