अफगानिस्तानको तालिवान प्रभावित क्षेत्रमा ८३ यात्रु बोकेकाे विमान दुर्घटना
![अफगानिस्तानको तालिवान प्रभावित क्षेत्रमा ८३ यात्रु बोकेकाे विमान दुर्घटना](https://www.dcnepal.com/wp-content/uploads/2020/01/7222be6b436c4f4886b20e68e7a8a2ed_18.jpg)
इस्लामावाद (एजेन्सी) । अफगानिस्तानमा सोमबार एक यात्रुबाहक विमान दुर्घटनामा परेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अफगानिस्तानको घान्जी प्रान्तको देह याक जिल्लामा विमान खसेको छ । सो बोइङ कम्पनीको विमान भएको र त्यसमा ८३ जना यात्रु रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। तर, दतालिवान प्रभावित क्षेत्र भएकाले त्यहाँको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन। अफगान सरकारले यो विषयमा केही पनि जानकारी नदिएको केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
प्रान्तीय अधिकारीले स्थानीय सञ्चारमाध्यमहरुसँग विमान दुर्घटनामा परेको पुष्टि गरे पनि क्षतिबारे भने केही खुलाइएको छैन । उनले विमान खस्नासाथ आगलागी भएको समेत बताएको बीबीसीले उल्लेख गरेको छ। उनले प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुनसक्ने बताएका छन् ।
तर अफगानिस्तानको सरकारी विमान कम्पनी एयर एरिनाले भने विमान दुर्घटना नभएको जनाएको अरबी समाचार माध्यम अल जजिराले जनाएको छ । एयर एरिनाले हेरात प्रान्तबाट दुईवटा उडान आफ्नो एयरलाइन्सले गरेको र दुबै सुरक्षित गन्तव्यमा पुगेको बताएको रोयर्टसले उल्लेख गरेको छ । रोयर्टसले एरिना एयरलाइन्सको हवला दिँदै कुनै विमान दुर्घटना भएको तर, सो विमान सरकारी एयरलाइन्स एयर एरिनाको नभएको जनाएको छ ।
यसैबीच समाचार एजेन्सी एएफपीका अनुसार इरानी यात्रुबाहक विमान बान्दर–ए–मासार विमानस्थलमा सोमबार अवतरण गर्नेक्रममा उछिट्टिएर नजिककै सडकमा आकस्मिक अवतरण गरेको इरानी अधिकारीहरूले बताएका छन् । राज्य सञ्चालित टेलिभिजनले स्थानीय अधिकारीहरूको भनाइ उद्धृत गर्दै विमानमा सवार यात्रुसमेत चालक दलका सबै सदस्य सकुशल रहेको जनाएको छ ।
खुजेस्तान प्रान्तका नागरिक उड्डयन सेवाका प्रमुख मोहमड्रेजा रेजाइयाले विमानका पाइलटले विमानस्थलमा विमान ढिला अवतरण गराएका कारण विमान अनियन्त्रित भएको बताएका छन् । इरानको क्यास्पियन एयरलाइन्सको स्वामित्वमा रहेको म्याकडोनल डग्लस विमान राजधानी तेहरानको मेहराबाद बिमानस्थलबाट उडेको थियो । विमानमा १३५ जना यात्रु र चालक दलका सदस्य थिए । टेलिभिजनले विमानका सबै यात्रु सुरक्षित रहेको जनाएको छ । विमानमै यात्रारत टेलिभिजनका पत्रकारले सडकमा विमान अवतरण गर्नेक्रममा विमानका पाङ्ग्राहरू फुटेको बताए ।
इरानी नागरिक उड्डयन संस्थाले विमान दुर्घटनाका बारेमा छानबिन शुरु गरिसकेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आर्थिक नाकाबन्दी लगाएपछि विश्वका चर्चित विमान कम्पनीहरू एयरबस र बोइङलाई आफ्ना जहाज इरानलाई बिक्री गर्न प्रतिबन्ध लागेको छ । प्रतिबन्धहरूका कारण इरानी हवाई सेवा असुरक्षित रहेको आरोप लाग्दै आएको छ ।
Facebook Comment