नेपाली सेनाको गौरवमय इतिहासलाई जीवन्त राख्न भूपू सैनिक महत्वपूर्ण हुन्छन् : प्रधानसेनापति थापा

डिसी नेपाल
१३ माघ २०७६ २१:५६

सुर्खेत । प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा दाङ र सुर्खेतका लागि तय भएका भूतपूर्व सैनिक सम्मेलन सोमबार सकिएको छ । कर्णाली प्रदेश मातहतका जुम्ला, डोल्पा, मुगु, जाजरकोट, दैलेख र सुर्खेत जिल्लाबाट निवृत्तिभरण बुझ्दै आएका भूतपूर्व सैनिक आयोजना भएको भूपू सैनिक सम्मेलनमा सहभागी भए । ती जिल्लामा बसोबास गर्ने भूपू सैनिकको सङ्ख्या १ हजार ७ सय भन्दाबढी रहेको छ ।

भूपू सैनिकको जीवनस्तरमा सुधार ल्याउन भूपू सैनिकका श्रीमतीलाई लघुवित्त कार्यक्रका लागि ३.९८ प्रतिशत व्याजमा १५ लाखसम्म सहुलियत कर्जा र आमा बाबु गुमाएका सैनिकका सन्ततिलाई १२ कक्षासम्म निःशुल्क शिक्षा प्रदान को सो अवसरमा घोषणा गरियो ।

सेनामा सहोदर चार जनाभन्दा बढी जागिर खानेका चार परिवार मातापितालाई १० हजार नगदसहित सो अवसरमा सम्मान गरियो । यो परम्पराको थालनी प्रधानसेनापति थापाले पहिलो पटक शुरुआत गरेका हुन्।

सम्मेलनमा सैनिक नेतृत्वसँग भूपूले आफूलाई परेको पीरमर्का सुनाएका थिए भने प्रधानसेनापतिले क्षमताले भ्याएससम्म सङ्गठनले ती समस्या सम्बोधन गर्ने वचन दिए । सम्मेलनलाई भूपू सैनिकले आफ्ना सहपाठी पल्टनियासँगको अभूतपूर्व जमघटका रूपमा लिने गर्दै आएका छन् ।

सम्मेलनमा भूपूलाई लक्षित गरी स्वास्थ्य उपचार सेवा, सहभागीलाई दैनिक भ्रमणभत्ता, लघुवित्त कार्यक्रमका ऋणीलाई चेक हस्तान्तरण, सर्वोत्कृष्ट र उत्कृष्ट व्यवसायीलाई पुरस्कार, ज्येष्ठ सैनिक र एकलको सम्मान एवं अशक्तलाई ह्विल चियर प्रदान गरियो । भर्खरै सेवानिवृत्त भएका र ज्येष्ठ नागरिकको उमेरमा रहेका भूतपूर्व सैनिकले संयुक्तरुपमा सो अवसरमा कवाज प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा जिल्ला विशेषको संस्कृति झल्कने वेषभूषा झाँकीसहितको हुड्के, खाँडो, देउडा, पैसरी, सखिया, मारुनी, ढाल तरबार नृत्य प्रस्तुत गरियो । नेपाली सेनाको टुकडीले खुकुरी ड्रिल, तेक्वान्दो र मार्चपास पनि प्रदर्शन गरेको थियो । सम्मेलनका क्रममा भूपू र तिनका आश्रित परिवार एवं एकल महिलाको क्षेत्रगतरूपमा ठूलो सङ्ख्यामा उपस्थिति थियो ।

कार्यक्रममा प्रधानसेनापति थापाले भने, “पुर्खाको रगत, पसिना र बलिदानद्वारा रचित नेपाली सेनाको गौरवमय इतिहासलाई जीवन्त राख्न भूपू सैनिक सदैव क्रियाशील रहनुपर्छ ।”

तेस्रो चरणको पहिलो भूतपूर्व सैनिक सम्मेलन आइतबार दाङको घोराहीमा भएको थियोे । उक्त सम्मेलनमा रुकुम, सल्यान, दाङ, प्यूठान र रोल्पामा स्थायी बसोबास गर्ने भूपू सैनिक सहभागी भए । विगतमा द्वन्द्वका कारण १५ वर्षसम्म स्थगन भएको भूतपूर्वसैनिक सम्मेलन २०७० साल माघदेखि पुनःआरम्भ गरिएको थियो । सेनाको व्यवस्थापन र कल्याणकारी बोर्डको संयोकत्वमा यस वर्ष अब धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा र खैरेनीटारमा भूपू सैनिक सम्मेलन गर्ने सेनाको कार्यक्रम छ । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा जीवनको महत्वपूर्ण क्षण बिताएका भूपूको सङ्ख्या ७० हजार छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकले लघुवित्त कार्यक्रममार्फत सहुलियत ब्याजदरमा हालसम्म रु चार अर्ब कर्जा प्रवाह गरेकामा उपलब्ध सहुलियत ऋण लिने भूपू सैनिक र आश्रितको सङ्ख्या २७ हजारभन्दा बढी रहेको सो अवसरमा जानकारी दिइयो । सुदूरपश्चिम प्रदेश मातहतका लागि धनगढीमा यही माघ २४ गत अर्को भूपू सैनिक सम्मेलन हुनेछ । बहालवाला तथा भूपू सैनिका परिवारलाई शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार आत्मसम्मान तथा समृद्धिको आधार तयार गर्न रायसुझाव लिन सेनाले यसखाले सम्मेलन गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *