श्रीलंकाका राष्ट्रिय खेलाडी उपुल थरंगा पनि एभरेष्ट प्रिमियर लिग खेल्ने

काठमाडौं। श्रीलंकाका राष्ट्रिय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान उपुल थरंगा पनि एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन् । थरंगाले ललितपुर प्याट्रियट्सबाट खेल्नेछन् । लिगको साबिक विजेतासमेत रहेको ललितपुरले तीन अनिवार्य विदेशी खेलाडी राख्नपर्ने नियम अनुसार थरंगालाई अनुबन्धित गरेको हो । थरंगाले आफ्नो फेसबुक पेजमा एक पोस्ट गर्दै यसबारे जानकारी दिएका छन् ।
थरंगा पार्ट टाइम विकेटकिपर तथा बायाँ हाते ब्याट्सम्यान हुन् । उनले २१ पटक श्रीलंकन टिमको एकदिवसीय खेलमा कप्तानी समेत गरिसकेका छन् । त्यस्तै उनले टी २० इन्टरनेसनलमा ६ पटक कप्तानी गरेका छन् । थरंगाले ३२ टेस्ट, २३५ एकदिवसीय तथा २६ टि–२० अन्तर्राष्ट्रियमा श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका छन् । उनले टेस्टमा ३ र एकदिवसीयमा १५ शतक बनाएका छन् । टि–२० अन्तर्राट्रियमा शतक बनाउन नसकेका थरंगाले टि–२० मा भने २ शतक बनाएका छन् । टि–२० मा उनको उच्च स्कोर १२४ नटआउट हो ।
‘मलाई इपिएलको २०२० को संस्करणमा सहभागी हुन पाउँदा खुशी लागेको छ । नेपालमा बढ्दो क्रिकेट कल्चरको साक्षी हुन पाउँदा खुशी छु । आउँदा अरु संस्करणमा पनि यसलाई निरन्तरता दिन पाउनेमा खुशी छु’, थरंगाले फेसबुक पोस्टमा लेखेका छन्, ‘सबैभन्दा धेरै त नेपालको सुन्दरता हेर्न आतुर छु । म त्यहाँ रहँदा मेरो ज्ञान र अनुभव म त्यहाँका युवाहरुसँग सेयर गर्नेछु ।’
Facebook Comment