पाकिस्तानी एयरफोर्स पाइलटका छोरालाई भारतले दियो पद्मश्री सम्मान, भारतभर विवाद
नयाँ दिल्ली। भारतको गणतन्त्र दिवसको अवसर पारेर देशको विशिष्ट मानिने पद्मश्री सम्मान बलिउड गायक अदनान सामीलाई दिने भारत सरकारको निर्णयपछि भारतमा विवाद भएको छ । लामो समयदेखि भारतमा रहेर संगीत सिर्जनामा सक्रिय सामी खासमा पाकिस्तानी थिए । उनले पाकिस्तानी नागरिकता त्यागेर भारतीय नागरिकता लिएको ४ वर्ष मात्र भएको छ । त्यसैले भारतमा उनलाई पद्मश्री सम्मान दिने कुराको विरोध भएको हो ।
पछिल्लो समय सामीलाई सामाजिक संजालमा ट्रोल गरिएको छ । विपक्षी दल पनि सामीलाई पद्मश्री दिएको विरोधमा छ । विरोधीहरुले अदनानका पिता पाकिस्तानी सेनामा थिए र उनले भारतविरुद्ध युद्ध लडेका थिए भन्ने कुरालाई आधार बनाएर उनलाई सम्मान दिएको विरोध गरिरहेका छन् । यस विषयमा स्वयं गायक अदनान सामीले आफ्नो धारणा राखेका छन् । उनले यस विषयमा आफ्ना पिताको नाम तानिएकोमा केही दुःख लागेको र केही हाँसोसमेत लागेको बताए ।
उनले भने ‘मेरा पिता पाकिस्तानी एयरफोर्समा हुनुहुन्थ्यो । मेरा पिता युद्धका हिरो हुनुहुन्थ्यो । पाकिस्तानको तर्फबाट १९६५ मा उहाँले भारतविरुद्ध युद्ध लड्नुभएको थियो । उहाँले आफ्नो देशको लागि काम गर्नुभयो र म उहाँप्रति गर्व गर्छु । तर अहिलेको सम्मानको विषयमा मेरा पिताको नाम तान्नुको कुनै तुक छैन ।’
अदनानले अगाडि भने ‘मलाई यो अवार्ड दिइनु र राजनीतिको कुनै सम्बन्ध छैन । यो आफ्नो क्षेत्रमा सर्वोत्कृष्ट कामको लागि दिइन्छ । सबैभन्दा अहम कुरा मलाई यो सम्मान कलाको लागि दिइएको हो । मैले आफ्नो काम देशको लागि गरें र उहाँले (पिताले) पनि देशको लागि आफ्नो काम गर्नुभयो । दुवै पूर्ण रुपमा फरक फरक कुरा हुन् । यिनीहरुलाई एकसाथ जोड्नुको कुनै अर्थ छैन ।’
Facebook Comment