मलेसियामा सम्पन्न पाँचौ हिमालयन कप फुटबलको उपाधि पिवाईसी जोहोरलाई
क्वालालम्पुर । मलेसियामा सम्पन्न पाँचौ हिमालयन कप फुटबलको उपाधि पिवाईसी जोहोरले हात पारेको छ । मर्डेका स्टेडियममा हिमालयन फुटबल क्लबको आयोजनामा जनवरी २५ देखि २७ सम्म प्रतियोगिता चलेको थियो । प्रतियोगितामा रोजगारीको सिलसिलामा मलेसियाका विभिन्न ठाउँमा कार्यरत नेपाली फुटबल खेलाडीहरूको १३ वटा टिम सहभागी थिए ।
खेलमा एमएमसी फुटबल क्लबले पुचुङ फुटबल क्लबलाई १–० को अन्तरले जित्दै तेस्रो भएको थियो । साथै फाइनल खेलमा पिवाईसी जोहोरले आयोजक हिमालयन फुटबल क्लब ए माथि २–० गोल अन्तरले सहज जीत दर्ता गर्दै प्रथम हुन सफल भएको थियो ।
प्रथम हुने टिमलाई ट्रफी र नगद दस हजार रिंगेट, दोस्रो हुने टिमलाई ट्रफी र पाँच हजार रिंगेट साथै तेस्रो हुने टिमलाई ट्रफी र तीन हजार रिंगेट पुरस्कार हिमालयन फुटबल क्लबका उपाध्यक्ष शिव सुवेदीले हस्तान्तरण गरेका थिए ।
प्रतियोगिताबाट ३४ जना उत्कृष्ट खेलाडीहरू छनोटमा परेका छन् । जसमध्ये फेरि अन्तिम चरणको छनोट गरी १७ जना छानी नेपालबाट एन्फाको सिफारिसमा ५ जना राष्ट्रिय खेलाडी ल्याई माइग्रेन कपको लागि तयारी गर्ने हिमालयन क्लबका सञ्चालक सदस्य सन्तोष कार्कीले जानकारी दिए ।
माइग्रेन कप फुटबल प्रतियोगिता मलेसियामा वैदेशिक रोजगारीको लागि रहेका एसियाली राष्ट्रहरूको खेलाडीहरू सहभागी हुनेछन् । उक्त माइग्रेन कपको आयोजना हिमालयन फुटबल क्लबले गर्नेछ भने यो प्रतियोगिता २०२० को श्रमिक दिवस मे १ को दिन शुरु हुने हिमालयन क्लबका उपाध्यक्ष सुवेदीले जानकारी दिए ।
Facebook Comment