साहित्यकार भारती गौतम नर्थ क्यारोलाइनामा सम्मानित

नर्थ क्यारोलाइना । साहित्यकार भारती गौतम नर्थ क्यारोलाइनामा सम्मानित भएकी छिन् । नर्थ क्यारोलाइना नेपाली साहित्य समाज तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टरले आफ्नो मासिक कार्यक्रम अन्तर्गत जनवरी महिनाको छनोटमा परेकी अनेसास पूर्व केन्द्रीय उपाध्यक्ष साहित्यकार भारती गौतमलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा उनको कविता संग्रह ‘आकाशमाथिको शहर’ भित्रका कविता वाचन गर्दे उक्त संग्रहमा रहेका कविताहरूमाथि छलफल पनि गरिएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि साहित्यकार भारती गौतमको सङ्क्षिप्त साहित्यिक जीवनी कार्यक्रम संयोजक नम्रता गुरागाँईले डिजिटल माध्यमबाट उपस्थित सबैमा सम्प्रेषण गरेकी थिइन भने कार्यक्रमको सुरुवात तथा स्वागत संस्थाकी कोषाध्यक्ष सुजाता ढुङ्गेलले गरेकी थिइन।
कार्यक्रमको पहिलो सत्रमा स्रष्टा स्वयम् र उपस्थित धेरैजसोबाट ‘आकाशमाथिको शहर’ पुस्तकभित्रका आफूलाई मन परेका कविता पाठ गरिएको थियो, भने दोस्रो सत्रमा पाठ गरिएका कवितामाथि छलफल तथा प्रश्नोत्तर कार्यक्रम गरिएको थियो।
कार्यक्रममा साहित्यकार भारती गौतमलाई संस्थाका सल्लाहकार डा। नारायण राजभण्डारीले खादा ओढाएर स्वागत गरेका थिए । नेपाली साहित्यलाई प्रवासमा रहेरपनि अनवरत सेवा गरिरहेकी भारती गौतमलाई संस्थाका अध्यक्ष शिखर दुलालले कार्यक्रममा सम्मान पत्र प्रदान गरेका थिए । परिचयात्मक कार्यक्रमबाट सुरु भएको कार्यक्रममा स्थानीय वुद्दिजिवी तथा साहित्यकारहरूका संलग्नता रहेको थियो।
Facebook Comment