सभामुखलाई बधाइ दिँदै देउवाले भने–प्रतिपक्षलाई विश्वासमा लिएमात्र सफलता
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले नवनिर्वाचित सभामुखको सफल कार्यकालको शुभकामना दिँदै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई सफलताको शुभकामना दिँदै विपक्षी दललाई सधै विश्वासमा लिएर अघि बढ्न आग्रह गरेका हुन्। विपक्षी दललाई विश्वासमा लिएर काम गर्न सकेमा मात्रै सिंगो संसदले सफलता प्राप्त गर्ने भन्दै उनले त्यसतर्फ गम्भीर हुन सभामुखको ध्यानाकर्षण गराए।
‘सभामुख भइसकेपछि तपाईँ कुनै पार्टीको सभामुख होइन। सम्पूर्ण सभाको सभामुख हो। खासगरी प्रतिपक्षीलाई विश्वासमा लिएर अघि बढ्नुहोला,’ उनले भने, ‘भोलिका दिनमा तपाईँको सफलताका लागि यी कुराहरुमा हाम्रो पार्टीले पूरा सहयोग गर्ने बचन दिन्छु।’
उनले संविधानको मर्म प्रतिकुल हुने विधेयकहरुलाई सदनबाट पास गराउन नहुनेतर्फ सभामुखको ध्यानाकर्षण गराए। उनले कोरोना भाइरस जोखिमको न्यूनिकरणमा विशेष पहल गर्न सरकारको ध्यानाकर्षण गराए। ‘कोरोना भाइरसका विरामीहरु नेपालमा छिरिसकेको भन्ने सुनेको छु। कारोना भाइरस जोखिम न्यूनीकरण गर्न २४ घण्टे हेल्प डेक्स राख्नु पर्यो। चीन संगको सिधा उडानले झन जोखिम पुर्याएको छ,’ उनले भने।
उनले अमेरिकी सरकारको ठूलो सहयोग रहेकाले एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘अमेरिकाले भनिसक्यो। चीनले बोलिसक्यो हामीलाई आपत्ति छैन भनेर । कसले आपत्ति गरेको छ यहाँ?’
Facebook Comment