ए डिभिजन लिगः सरस्वतीको पहिलो जित

डिसी नेपाल
१४ माघ २०७६ १६:०५

काठमाडौं । सरस्वती युथ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै सरस्वतीले लिगमा पहिलो जित निकालेको हो ।

सरस्वतीले लिगमा ९ खेलपछि पहिलो ३ अंक जोडेको हो । सरस्वतीको जितमा काजिम बुसारीले दुई गोल गरे । यस्तै विनोद केसी र मनिष थापाको नाममा एक एक गोल रह्यो । शेर्पाका आशिष गुरुङ, रबि थापा मगर र विजय श्रेष्ठले एक एक गोल फर्काए ।

रोमान्चक बनेको खेलको पाँचौं मिनेटमा बुसारीले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए । १० औं मिनेटमा आशिषले गोल गर्दै शेर्पालाई १–१ को बराबरीमा ल्याए ।

खेलको ३५ औं मिनेटमा विनोदले गोल गर्दै सरस्वतीलाई २–१ को अग्रता दिलाए । तर, ४५ औं मिनेटमा शेर्पाका विजयले गोल गर्दा पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको थियो ।

खेलको ८३ औं मिनेटमा बुसारीले व्यक्तिगत दोस्रो गोल गर्दै सरस्वतीलाई ३–२ को अग्रता दिलाए । ८८ औं मिनेटमा मनिषले गोल गर्दा सरस्वती ४–२ ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा शेर्पाका रबिले गोल गरेपनि सरस्वती ४–३ ले विजयी भयो ।

खेलमा सरस्वतीका बुसारी म्यान अफ दि म्याच चुनिए । जितसँगै सरस्वतीले ९ खेलमा ४ अंक जोडेको छ । सरस्वती लिगको पुछारमा यथावत रहेको छ । शेर्पा ९ खेलमा ७ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *