रेशम चौधरीलगायत जेलमा रहेका १६ जना शीघ्र रिहाइ हुनुपर्छ : सांसद यादव

डिसी नेपाल
१४ माघ २०७६ १८:२०

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता महेन्द्रराय यादवले सरकार जिम्मेवार हुन नसकेको, जनताको जीवनयापन कठिन भएको र राजनीतिक स्थिरताको आवश्यकता रहेकामा सरकारमात्र स्थिर भएको बताए । नवनिर्वाचित सभामुख सापकोटालाई पार्टीका तर्फबाट पूर्ण समर्थन हुने उनको भनाइ थियो । सांसद रेशम चौधरीलगायत जेलमा रहेका १६ जनाभन्दा बढी नेताको शीघ्र रिहाइको माग पनि उनले गरे । उखु किसानसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न पनि सांसद यादवले माग गरेका थिए।

समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसद् सञ्चालनमा सभामुख सापकोटाले कुशल व्यक्तिका रुपमा भूमिका निर्वाह गर्नुहुने विश्वास व्यक्त गरे।

“प्रतिनिधिसभा लोकतन्त्रको शक्तिशाली अङ्ग हो, हामी सबैले जनप्रतिनिधिसभालाई उच्च स्थानमा राख्ने गरेको भए पनि राज्यका तीन अङ्गको स्थान उदारवादी लोकतन्त्रले आफ्नो उदारता भुल्दै गएको छ, समाजवादी लोकतन्त्रले पनि लोकतन्त्रका कतिपय विषय छाड्दै गयो”, उनले भने।

प्रतिनिधिसभाको स्थान तल परेको उल्लेख गर्दै नेता भट्टराईले राज्यको प्रमुख राष्ट्रपति, उपराष्ट्रपतिपछि सभामुख उच्च स्थानमा हुनुपर्नेमा जोड दिए । “हामीले प्रधानमन्त्रीलाई माथि राख्यौँ, तर अहिले प्रधानन्यायाधीश जसले संसद्ले बनाउने कानूनको व्याख्या गर्छ, उसलाई सभामुखभन्दा माथि राखिएको छ, यसमा सभामुखको ध्याना जाओस्, संसद् भनेको मूलतः प्रतिपक्षकै हो, विश्वका धेरै देशको संसद् सञ्चालन यसरी नै भएको देखेको छु”, उनले भने।

अन्य देशका सभामुखले प्रतिपक्षको आवाजलाई प्राथमिकता दिने गरेको नेता भट्टराईले सुनाए। झिनामसिना विषयमा संसद् अलमलिएर राष्ट्रिय मुद्दामा जीवन्त हुन नसकेको उनले बताए । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विषयमा अहिले भइरहेको छलफल राष्ट्रिय मुद्दाका रुपमा नभई पार्टीको गुटका आधारमा हुनु गलत रहेको उनको भनाइ थियो ।

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले नवनिर्वाचित सभामुख सापकोटालाई बधाई दिँदै सबैलाई साथ लिएर तटस्थ रही पदको मर्यादालाई पालन गर्न सफल हुनुहुने विश्वास व्यक्त गरे । नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सभामुख सापकोटाले संसद्लाई जनताप्रति र सरकारलाई सदनप्रति जवाफदेही बनाउन तटस्थ एवं निष्पक्ष भूमिका निर्वाह गर्ने अपेक्षा गरे । पश्चिम नेपालका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग भएको स्पष्ट प्रमाण हुँदाहुँदै पनि सो क्षेत्रमा विवाद हुनु नपर्ने भन्दै उनले विवाद समाधानका पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *