कुवेतको अस्पतालमा ब्लड क्यान्सरसँग लड्दै प्रीति गुरुङ

डिसी नेपाल
१५ माघ २०७६ १५:४५

कुवेत । कुवेतको अस्पतालमा जीवन मरणको दोसाँधमा रहेकी एक नेपाली युवतीले आफूलाई स्वदेश फर्काउन अपिल गरेकी छिन्।
गोरखा आरुघाटकी २२ वर्षीया प्रीति गुरुङ यतिबेला कुवेतको सुयोखस्थित सेखबारी क्यान्सर अस्पतालको वार्ड– ५ को १० नम्बर बेडमा प्राण घातक रोग ब्लड क्यान्सरको उपचार गराइरहेकी छन्।

उनी दुई वर्षअघि भारतीय अवैध बाटो हुँदै घरेलु कामदारको रुपमा कुवेत पुगेकी थिइन्। गुरुङलाई गएको सेप्टेम्बरमा एपेन्डिसाइटिस भएपछि उपचारको लागि स्थानीय फार्निवया अस्पताल पुर्याइएको थियो। एपेन्डिसाइटिसको अप्रेशनको क्रममा उनलाई ब्लड क्यान्सर पनि भएको पत्ता लागेको थियो।

डिसी नेपालको सम्पर्कमा आएकी गुरुङले आफूलाई बचाउन सहयोग तथा नेपाल फर्काउन अपिल गरेकी छिन्। उनका अनुसार अहिले उनलाई रगतको आवश्यकता परेको छ। डाक्टरले वंशजको रगत उपयुक्त हुने बताएका छन्।

‘मलाई २०–२५ दिनको अन्तरमा किमो दिँदै आएका छन्। पछिल्लो पटक २५ जनवरीमा किमो दिइएको थियो। अब रिर्पाेट राम्रो आए नेपालमा गएर उपचार गराउँदा राम्रो हुने डाक्टरहरूले सल्लाह दिएका छन,’ पीडित गुरुङले भनिन्, ‘अहिले डाक्टरहरूले सकेसम्म आफ्नै वशंजले रगत दिनुपर्छ भनेका छन्। बुवा,आमा,दाजुभाइ वा दिदीबहिनीको रगत उपयुक्त हुने बताएका छन्।’

घरमा कमाउने मान्छे कोही नभएकोले रोजगारीको लागि आँफू परदेश हिँडेको तर आँफू नै यसरी अस्पतालमा छटपटाउनु परेको भन्दै उनले दुखेसो पोखिन्। ‘मेरो बुवा हुनुहुन्न। म सानै छँदा बुवाले मम्मीलाई छोडेर जानुभएको हो। १४ वर्ष भयो, अहिले उहाँ कहाँ कस्तो अवस्थामा हुनुहुन्छ मलाइ थाहा छैन’, भावुक हुँदै गुरुङले भनिन्, ‘भाइ गाउँमै छ। मम्मी काठमाडौंमा हुनुहुन्छ । परिवारलाई सहज होला भनेर कुवेत आएँ। तर, आफैमाथि यस्तो दशा लाग्यो।’

अहिलेसम्म उपचारको लागि मालिक मालिक्नीले अस्पतालमा सहयोग पुर्याउँदै आएको उनले बताइन्। ‘उनीहरू (मालिक मालिक्नी) कहिलेकाँही अस्पतालमा आउँछन्। नआएको बेला फोन पनि गर्छन्। सान्त्वना दिन्छन्। केही चाहियो भने ल्याइदिन्छ। अब नेपाल पठाइदिन सहयोग गरे भने उतै गएर आमाको साथमा उपचार गर्न सकिन्थ्यो कि,’ उनले मनिलो स्वरमा भनिन्।

उनले कुवेतमा रहेका नेपाली संघ संस्थाहरुलाई आफन्नो जीवन रक्षाको लागि सहयोग गरिदिन पनि अपिल गरेकी छिन्। ‘सुनेकी छु कुवेतमा सामाजिक कामको लागि भन्दै धेरै नेपाली संघसंस्था खुलेका छन रे। म नेपालमै गएर आफ्नो उपचार गराउन चाहन्छु। मलाइ नेपाल फर्काउन तथा मेरो उपचारको लागि सहयोग गर्न यहाँ रहेका नेपाली संघ संस्था तथा सहयोगी मनहरुलाई अनुरोध गर्दछु।’ उनले सहयोगको लागि याचना गरिन्।

अहिले पीडित गुरुङको अवस्थाबारे जानकारी पाएसँगै उनलाई सहयोगका लागि कल्याणकारी युवा समाजका अध्यक्ष निरज सिंह ठकुरीले आफूहरुले सहयोग संकलन गर्ने बताएका छन्। ठकुरीले सहयोग संकलन अभियानमा हातेमालो गर्न कुवेतका सम्पूर्ण संघ संस्थालाई अनुरोध गरेका छन्।

यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष सुजन केसीले उनको अवस्था बारेमा आफूले जानकारी पाएको र उनलाई स्वदेश फिर्ताको लागि आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *