ए डिभिजन लिगः मनाङ अपराजित

डिसी नेपाल
१५ माघ २०७६ १७:३०

काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ ।

एन्फा कम्ल्पेक्स सातदोबाटोमा बुधबार भएको खेलमा मनाङले साविक उपविजेता संकटा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो । मनाङको जितमा अन्जन बिष्ट र निशान लिम्बुले एक एक गोल गरे । मनाङले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको ४२ औं मिनेटमा अमित तामाङको आत्मघाती गोलबाट मनाङले सुरुवाती अग्रता बनाएको थियो । अन्जनको हेड बल क्लियर गर्ने क्रममा अमितले आफ्नै पोस्टमा गोल गरेका थिए ।

त्यसको एक मिनेट नबित्दै ४३ औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ७१ औं मिनेटमा निशानले डिबक्स नजिकैबाट उत्कृष्ट गोल गर्दै मनाङलाई ३–० को सहज जित दिलाए ।

खेलमा मनाङका अन्जन म्यान अफ दि म्याच चुनिए । जितसँगै लिगमा मनाङले अपराजित यात्रा कायम राखेको छ । मनाङ लिगमा अपराजित रहने एक्लो टिम हो। संकटालाई हराएसँगै मनाङले ९ खेलमा १९ अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा रहेको छ ।

दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबसँग समान अंक भएपनि मनाङ गोल अन्तरमा पछि रहेको छ । शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबको २० अंक रहेको छ । संकटा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *