आस्था प्रकरणः केके भएको थियो एयरपोर्टदेखि हिरासतसम्म [भिडियाे]

डिसी नेपाल
१५ माघ २०७६ २३:१६

काठमाडौं। गायिका आस्था राउत पछिल्लो सातादेखि चर्चामा छिन्। उनी गीत वा सांगीतिक विषयमा चर्चित भएकी भने होइनन्। यो साता उनका लागि अलि नराम्रो बन्न पुग्यो।

आफ्नो एउटा अभिव्यक्तिका कारण आस्था विवादमा परिन भने सञचार माध्यम तथा सामाजिक सञ्जालमा हटकेट बनिन्। उनी यहि माघ २ गते आफ्नो अफिसियल फेसबुक पेजमा लाइभ आएकी थिइन्। लाइभमा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा जाँचका क्रममा एकजना महिला प्रहरी जवानले आफूमाथि दुव्र्यवहार गरेको भन्दै प्रहरीलाई नै गाली गरिन्। आक्रोशमा लाइभ आएकी राउत प्रहरी जवानमाथि मात्र नभएर प्रहरी संगठन माथि नै खनिइन्।

भिडियो सार्वजनिक भएपछि धेरै मानिसहरु राउतको पक्ष र विपक्षमा प्रतिक्रिया दिन थाले। केहीले राउतको भनाइमा समर्थन जनाए भने केहीले प्रहरी संगठनमाथि नै प्रहार गरेको भन्दै राउतको बिरोध गरे। विरोध हुन थालेपछि राउतले लाइभ आएको केही बेरमै एउटा लामो स्टाटस लेख्दै आफूले पोखेको आक्रोष प्रहरी संगठनमाथि नभई आफूलाई दुव्र्यवहार गर्ने महिला प्रहरीमाथि भएको प्रष्टिकरण दिइन्।

भिडियो भाइरल हुँदै गएपछि प्रहरीले उक्त भिडियोमाथि अनुसन्धान सुरु गर्याे। प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालयलाई निर्देशन दियो, त्यसपछि माघ ३ गते गायिका राउत फेरि रुँदै लाइभ आइन्। र आफूमाथि दुव्र्यवहार भएको दाबी गर्दै प्रहरी संगठनमाथि आफ्नो सम्मान भएको बताउँदै माफी मागिन्। सोहि दिन एयरपोर्टबाट सीसीटीभी फुटेज बाहिरियो।

फुटेज बाहिरीए पछि धेरैले गायिका राउतको गल्ति भएको भन्न थाले भने केहिले सीसीटीभी फुटेजमा आवाज नभएकाले छुट्याउन नसकिने बताए । विमानस्थलबाट सीसीटीभी फुटेज बाहिरिएपछि एक थरिले ३३ किलो सुन काण्डको फुटेज पनि हेर्न पाउनुपर्यो भन्दै विमानस्थलमाथि प्रश्न गर्न थाले। सिसिटिभी फुटेज बाहिरिनुमा प्रहरीको गल्ति भन्नेहरु पनि छन्।

भिडियोका कारण गायिका राउत भने झन झन् फस्दै गइन्। माघ ३ गते नै गायिका राउतले आरोप लगाएकी विमानस्थलकी महिला प्रहरी जवान रमिता श्रेष्ठले आफू र प्रहरी संगठनमाथि सामाजिक सञ्जालबाट दुव्र्यवहार गरिएको भन्दै अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएकी थिइन्। विमानस्थल प्रहरी कार्यालयले उक्त उजुरी महानगरीय प्रहरी कार्यालय रानी पोखरी पठायो।


५ गते गायिका राउत विरुद्ध अभद्र व्यबहार सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जि जारी गर्यो। त्यतिबेला गायिका राउत भारतको एक कार्यक्रममा व्यस्त थिइन्। केही दिनपछि कार्यक्रम सकेर नेपाल फर्किएकी राउतले माघ १३ गते प्रहरी समक्ष आत्मसमर्पण गरिन्। त्यहि दिन काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेपछि जिल्ला प्रशासन कार्यालयले राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दियो।

राउतलाई ४ दिन थुनामा राख्न दिएको आदेशपछि भने आस्थाभन्दा धेरै आलोचना प्रहरीको भयो। धेरैले सामाजिक सञ्जालमा प्रहरीले राउतमाथि ज्यादती गरेको टिप्पणी गरे। धेरैले सानो गल्तिमा पनि प्रहरीले आफ्नो दम्भ देखाएको प्रतिक्रिया दिए। यहीबीचमा पोखरामा हातपात गरेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङ्गे २ दिनमै हिरासतबाट छुटेका थिए। कतिपयले आस्था र मनाङ्गेलाई जोडेर प्रतिक्रिया दिए। उनीहरुले मनाङ्गेसँग प्रहरी डराएको तर, आस्थामाथि दम्भ देखाएको प्रतिक्रिया दिए।

माघ १४ गते प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराएपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ४ हजार धरौटीमा छाड्न आदेश दिए।

गायिका आस्था राउत बढीजसो रक पप जनराका गीतहरु गाउँछिन् चलचित्र ‘मायाज बार’को ‘माया यो माया’बोलको गीतमा स्वर दिएर उनले गायन क्षेत्रमा प्रवेश गरेकी थिइन्। अहिलेसम्म उनले झण्डै एक दर्जन चलचित्रका गीतहरुमा आफ्नो स्वर दिइसकेकी छिन्।

उनका चौबन्दीमा पटुकी, झुम्के बुलाकी, सालको पात टपरी, तीन मोहरको धागोलगायतका गीत निकै चर्चित छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *