दिल्लीको जामियामा आन्दोलनकारीमाथि जब एक युवकले गोली चलाए (भिडियो)

डिसी नेपाल
१६ माघ २०७६ १६:४२

नयाँ दिल्ली (एजेन्सी) । भारतमा हालै पारित गरिएको नागरिकता संशोधन ऐन (सीएए) र राष्ट्रिय नागरिकता पञ्जीकरण (एनसीआर) को विरोधमा लगातार प्रदर्शन भइरहेका बेला बिहीबार दिल्लीको जामिया इस्लामिया विश्व विद्यालयमा गोली चलेको छ ।

गोली आन्दोलनकारी जामियाका विद्यार्थीको विरोधमा एक हिन्दुवादी युवकले चलाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

जामियाका विद्यार्थीहरुले बिहीबार राजघटसम्म मार्च पासको कार्यक्रम आयोजना गरेका थिए । उनीहरु सीएए र एनसीआरको विरोधमा नारा लगाउँदै अगाडि बढ्दै गर्दा एक युवकले भीडमा पेस्तोल देखाउँदै गोली चलाएका छन् । ती युवकले गोली चलाउँदै ‘भारत माताकी जय, बन्देमातरम’ जस्ता नारा लगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ती युवकले चलाएको गोली लागेर एक प्रदर्शनकारी विद्यार्थी घाइते भएको समेत भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रहरीले गोली चलाउने विद्यार्थीलाई नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीले यो विषयमा छानविन भइरहेको बताएको छ । तर, युवकले प्रहरीकै अगाडि गोली चलाउँदामा पनि प्रहरीले केही नगरेको भन्दै दिल्ली प्रहरी र भारतीय सत्तारुढ दल भाजपाको आलोचना भएको छ । दिल्ली प्रहरी संघीय सरकार अन्तर्गत रहेकाले दिल्ली प्रहरीले आन्दोलनकारीमाथि दमन गर्ने नीति लिएको र सरकार समर्थकलाई सहयोग गरेको भन्दै आलोचना खेप्दै आएको छ । केही दिन अगाडि जवाहर लाल नेहरु विश्वविद्यालयमा पनि दिल्ली प्रहरीकै सहयोगमा भाजपा निकटका विद्यार्थीले वामपन्थी विद्यार्थीमाथि सांघातिक आक्रमण गरेको भन्दै चर्को विरोध भएको थियो ।

दिल्लीको शाहिनबागमा विगत ४८ दिनदेखि लगातार सीएएको विरोधमा महिलाहरु धर्नामा बसेका छन् । आगामी फेब्रुअरी ८ मा दिल्ली विधानसभाको निर्वाचन हुँदै छ। त्यसैले पनि दिल्लीमा साम्प्रदायीक घटना गराएर भाजपाले चुनाव जित्ने रणनीति लिएको विपक्षीहरुले लगातार आरोप लगाइरहेका छन् । भाजापका नेता केन्द्रीय मन्त्रीहरुले लगातार विवादास्पद अभिव्यक्ति दिइरहेका छन् । केही अगाडि केन्द्रीय मन्त्री तथा भाजपा नेता अनुराग ठाकुरले विपक्षीहरुलाई गोली हान्नुपर्ने बताएका थिए भने एक भाजपा विधायकले दिल्लीमा मिनि पाकिस्तान रहेको बताएका थिए । साथमा उनले मुस्लिमहरुले बलात्कार गर्ने गरेको भन्दै निकै भड्काऊ भाषण गरेका थिए ।

सीएएमा पाकिस्तान, बांगलादेश र अफगानिस्तानबाट भारत आउने गैर मुस्लिमहरुलेमात्र नागरिकता पाउने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले भारतमा अल्पसंख्यकका रुपमा रहेका मुस्लिमहरुमाथि थप अत्याचार हुने भन्दै सीएएको विरोध भइरहेको छ । यसैबीच जेएनयूका पूर्व छात्र संघ अध्यक्ष तथा वामपन्थी नेता कनैहा कुमार पक्राउ परेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *