अमेरिकी नागरिकलाई चीन भ्रमणमा प्रतिबन्ध
वाशिङटन। अमेरिकाको स्टेट डिपार्टमेन्टले आफ्ना नागरिकलाई चीन भ्रमणमा प्रतिबन्ध लगाएको छ । चीनमा फैलिएको कोरोनाभाइरस संक्रमणको जोखिमलाई हेर्दै अमेरिकाले यस्तो प्रतिबन्ध लगाएको न्यूयोर्क पोस्टले लेखेको छ । डिपार्टमेन्टले चौथो तहको ‘टु नट ट्राभल एडभाइजरी’ जारी गरेको छ जसलाई प्रतिबन्ध लगाए सरहकै कडा निर्देशन मानिन्छ । कोरोना भाइरसबाट अहिलेसम्म ९ हजार ६ सय संक्रमित भइसकेका छन् र २१३ जनाले ज्यान गुमाइसकेका छन् ।
‘जनवरी ३० मा विश्व स्वास्थ्य संगठनले फैलिइरहेको भाइरसको संक्रमणलाई विश्व स्वास्थ्यमा संकटको रुपमा लिइसकेको छ’ स्टेट डिपार्टमेन्टले जारी गरेको एडभाइजरीमा भनिएको छ ‘यात्रुहरुलाइ छोटो पूर्व सूचना वा बिना सूचना जारी गरी लागू गरिने यात्रा प्रतिबन्धको लागि तयार रहन आग्रह गरिन्छ । चीन हुँदै गरिने व्यवसायिक आयात–निर्यातलाई घटाइएको वा प्रतिबन्ध लगाइएको छ ।’ विश्व स्वास्थ्य संगठनमका अनुसार अहिलेको संक्रमणले २००२–२००३ मा सार्स भाइरस फैलिएका बेला भएको संक्रमणको दरलाई नाघिसकेको छ ।
Facebook Comment