नेकपा केन्द्रीय कमिटी बैठक : पूर्व माओवादी एकजुट, पूर्व एमालेमा गुटैगुट

डिसी नेपाल
१७ माघ २०७६ १०:२१

काठमाडौ। सत्तारुढ दल नेकपाको जारी केन्द्रीय जारी बैठकमा पूर्व एमालेभित्र गुटैगुट र पूर्व माओवादी भने एक जुट देखिएका छन्। पूर्व एमालेभित्र विषय गरी एमसीसीको विषयमा धेरै विवाद देखिएको छ।

पूर्व एमालेभित्र एमसीसी पारित गर्नुपर्ने, परिमार्जनसहित पारित गर्नुपर्ने र पारित गर्नै नहुने तीन किसिमका अडान देखिएको छ। एमसीसी पारित गर्न नहुनेमा माधव नेपाल पक्षधर केन्द्रीय सदस्यले बढी अडान लिएका छन्।

यसैगरी प्रधानमन्त्रीसमेत रहेका केपी ओली पक्षधरले एमसीसी जसरी पनि पारित गर्नुपर्ने अडान राखेका छन् भने एउटा पक्षले परिमार्जनसहित एमसीसी पारित गर्नुपर्ने मत राखेका छन।

बुधबारदेखि राजधानीको राष्ट्रियसभा गृहमा जारी केन्द्रीय कमिटी बैठकमा १५ वटा समूह बनाएर छलफल गरिएको छ। ‘अहिलेको छलफलमा सैद्धान्तिक विषय भन्दा पनि एमसीसी र सरकारको कामका विषयमा नै सदस्यहरुले बढी चासो राखेको पाइएको छ,’ स्थायी कमिटी सदस्य गणेश शाहले डिसी नेपालसँग भने, ‘लामो समयदेखि नेताहरुले आफ्नो भनाइ राख्ने ठाउँ नपाउँदा पनि अहिले केही आक्रमक रुपमा प्रस्तुत भएको देखिन्छ।’

पूर्व माओवादीभित्र एउटा कमाण्डको नेतृत्वभित्र रहेर आएको हुनाले धेरै गुट नदेखिएको तर पूर्व एमालेभित्र सुरुदेखि नै गुटगत प्रभाव देखिएका कारण यसको असर अहिलेको केन्द्रीय कमिटीमा पनि परेको स्थायी कमिटी सदस्य शाहको विश्लेषण छ। जारी केन्द्रीय कमिटी बैठकमा सैद्धान्तिक विषयमा भन्दा पनि बढी एमसीसी र सरकारको कामका विषयमा बढी छलफल भएको छ।

एमसीसीका विषयमा पूर्व माओवादी पक्षको सकेसम्म पारित नगर्ने सोच देखिन्छ, तर सोही विषयमा पूर्व एमालेभित्र भने एमसीसीका विषयमा फरक फरम मत रहेको देखिन्छ। ‘केही नेताहरु आफ्नो स्पेस बनाउने गरी पनि प्रस्तुत भएको देखियो,’ शाहले भने, ‘कसैको मौन बसेरै पनि पार्टीभित्र आफ्नो स्पेस बनाउने क्षमता हुन्छ, कोही बढी आक्रमक भएरै आफ्नो स्पेस बनाउन चाहन्छन्।’

पूर्व माओवादी पक्ष प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाएपछि केही नरम देखिएको छ। विशेष गरी पछिल्लो समय आफ्नो पक्षबाट सभामुख पनि बनाउन सफल भएपछि पूर्व माओवादी नेतृत्वप्रति नरम देखिएको एक नेताले बताए।

‘प्रचण्ड कार्यकारी अध्यक्ष भएपछि र सभामुख पनि आफ्नै कोटाबाट बनाउन सफल भएपछि पूर्व माओवादी नेतृत्वप्रति नरम देखिएको छ,’ एक नेताले भने, ‘तर पूर्व एमालेभित्र ओली कमरेड निकटले सरकार र नेतृत्वको एकदम बचाउ गर्ने र माधव कमरेड पक्षधरले सरकार र नेतृत्वको कडा आलोचना गरेको देखियो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *