दुबईमा ‘भ्वाइस अफ नेपाल’, ‘बुगीवुगी’ र ‘सक्कीगोनी’का कलाकारले रंगीन बनाउँदै ‘गोर्खाली साँझ’
दुबई । युएईको दुबईमा एक साँझ ‘भ्वाइस अफ नेपाल’, ‘बुगीवुगी’ र भद्रगोलका कलाकारहरुले रंगीन बनाउने भएका छन् । दुबईमा दोस्रो पटक हुन गइरहेको ‘गोर्खाली नाईट’ कार्यक्रमलाई ‘भ्वाइस अफ नेपाल सिजन २’, ‘बुगीवुगी’ र ‘सक्कीगोनी’का कलाकारहरुले रंगीन बनाउने भएका हुन्।
कार्यक्रममा ‘भ्वाइस अफ नेपाल सिजन २’का विजेता राम लिम्बुसँगै फाइनलिस्ट विकाश लिम्बु, आरिफ राओ, सनिश श्रेष्ठ र टप १० प्रतियोगी अञ्जु राना मगरले आफ्नो वेजोड प्रस्तुती दिनेछन् । त्यस्तै नेपाली डान्सीङ रियालिटी शो ‘बुगीवुगी’ की विजेता कविता नेपाली, फाइनलिस्ट रबिन भुजेल र स्ट्याण्डप कमेडीबाट चर्चामा आएका नेपाली चर्चित हाँस्य टेलिशृङ्खला ‘सक्कीगोनी’का हाँस्य कलाकार सुबोध गौतमले आफ्नो कलाको जादु देखाउनेछन् ।
कार्यक्रमको सञ्चालन भ्वाइस अफ नेपालका प्रस्तोता सुशील नेपालले गर्नेछन् । भने कार्यक्रममा चर्चित गीत ‘ फूल होइन काँडा’ की गायिका प्रविसा अधिकारी र उदाउँदो गायिका स्मिता दाहालले पनि आफ्नो स्वरले दर्शकलाई मन्त्रमुग्ध बनाउँदै छन् । गायिका प्रविसा र स्मिता पछिल्लो समय नेपाली युवायुवतीको रोजाइमा परेका कलाकार हुन् । उनीहरूले गाएका गीत युट्युबमा करोडौँ क्लबमा छन् ।
कार्यक्रम फेब्रुअरी २८ तारिख शुक्रबार बरदुबईको होटल अस्टोरिया भित्र रहेको क्लब एभरेस्टमा दिनको ३ बजेबाट सुरु हुने आयोजक मध्येका एक मनोज गोर्खालीले बताए । कार्यक्रमलाई युएइर्कका प्रतिष्ठित कम्पनी र समूहको प्रायोजन तथा एनआरएनए आईसीसीका विशिष्ट व्यक्तिहरुको सहयोग रहेको छ ।
गत वर्ष दुबईमा पहिलो पटक ‘गोर्खाली नाइट–२०१९’ को आयोजना गरिएको थियो । उक्त कार्यक्रमबाट सङ्कलन भएको रकम मृगौला रोगी विष्णु सुनार र संजीव कंडेललाई जनही १ र १ लाखका दरले सहयोग गरिएको थियो।
प्रथम ‘गोर्खाली नाइट’मा नेपाल आइडल सिजन २ का विजेता रबी ओडकासाथै बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, गायक कुलेन्द्र विक, नायिका तथा मोडेल एलिना रायमाझि, बिबेक खतिवडा, शोभा त्रिपाठी र रमेश दुलालले आफ्नो प्रस्तुती दिएका थिए ।
गत वर्ष झैँ यस वर्ष पनि कार्यक्रमबाट संकलन भएको रकम सामाजिक कार्यमा खर्च गरिने आयोजकको भनाई छ ।
कार्यक्रमका आयोजक मनोज गोर्खाली लामो समयदेखि यूएई लगायत मध्यपूर्वका देशमा हुने कार्यक्रमका साथै सामाजिक कार्यमा सक्रिय ब्यवसायी तथा एआरएनए आइसीसीका मध्यपूर्व उपसंयोजक हुन् । त्यस्तै अर्का आयोजक मदन अधिकारी एआरएनए युएईका युवा संयोजक लगायत फुटबल प्रशिक्षक, खेलाडी र ब्यबसायी हुन । मनोज र मदन विगतमा पनि नेपालबाट कलाकार बोलाएर युएईमा सफल सांस्कृतिक कार्यक्रम गरी सकेका नेपालीमाझ चिरपरिचित नाम हुन्।
Facebook Comment