१ अपहरणकारी २३ बालबालिका, यसरी बित्यो अपहरण, उद्धार र इन्काउन्टरको ११ घण्टा

डिसी नेपाल
१७ माघ २०७६ ११:३३

काठमाडौं। भारतको उत्तर प्रदेशको फर्रुखाबादको करथिया गाउँमा एक सनकीले जन्मदिनको बहानामा २३ बालबालिकालाई ११ घण्टासम्म कैदमा राखे । करिब ७ घण्टाको उद्धार अपरेशनपछि उत्तर प्रदेश पुलिसले सबै बालबालिकालाई सकुशल उद्धार गर्न सफल भयो । बिहीबार दिउँसो करिब साढे २ बजेबाट सुरु भएको यो डरलाग्दो खेल राती करिब साढे १ बजे अपहरणकारी सुवास बाथमको मृत्युसँगै समाप्त भयो ।

सुवासले यी बालबालिकालाई जन्मदिनको बहानामा आफ्नो घरमा बोलाएका थिए । बालबालिका आएपछि उनले सबैलाई आफ्नो घरमै बन्धक बनाए । बालबालिकालाई घरमै बन्धक बनाएपछि सुवास छतमा आए र सबैलाई बालबालिका आफ्नो कैदमा रहेको बताए । त्यसपछि गाउँलेहरुले एक जनालाई सुवाससँग कुरा गर्न पठाए तर सुवासले उनको खुट्टामा गोली हानिदिए । त्यसपछि गाउँलेहरुले पुलिसलाई यसको जानकारी दिए ।

सूचना पाएको आधा घण्टामा पुगेको पुलिसले सुवाससँग कुरा गर्न थाल्यो । सुवास भने लगातार बालबालिकाहरुलाई बमले उडाइदिने धम्की दिन्थे । २३ बालबालिकाको जीवन दाउमा भएकोले उत्तरु प्रदेश पुलिस र युपी एन्टि रेरोरिस्ट स्क्वाड (एटिएस)को लागि यो अपरेशन निकै चुनौतीपूर्ण थियो । सानो गल्तीले पनि बालबालिकाको ज्यान जान सक्थ्यो । पुलिसले सुझबुझपूर्ण तरिकाले सुवाससँग कुरा गर्न थाले तर सुवासले उल्टै पुलिसमाथि नै गोली चलाए । सुवासको आक्रमणमा २ पुलिस घाइते भए ।

घटनाको गम्भीरतालाई हेर्दै जिल्ला मजिस्ट्रेट र एसपी पनि घटनास्थल पुगे । यत्तिकैमा सुवासले स्थानीय बिधायकलाई बोलाउन माग गरे । पूरै गाउँ त्रसित थियो । कसैले बुझ्न सकिरहेका थिएनन् कि सुवास के चाहन्छन् । यही बीच आरोपीले फेरि फयर गरे । घटनाको प्रभाव प्रदेश राजधानी लखनउसम्म पुग्यो । डिजीपीले एन्टि टेरोरिस्ट स्क्वाडलाई घटनास्थलमा पठाए । राती करिब ९ बजे मुख्यमन्त्री योगी आदित्यनाथले आपतकालीन बैठक बोलाए । मुख्यमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत मुख्य सचिव, डिजीपी, एडिजी ल एण्ड अर्डर, गृह विभागका प्रमुख सचिवसहितसँग छलफल गरेर बालबालिकालाई तत्काल छुटाउन निर्देशन दिए ।

यता पुलिसले सुवासको घरलाई चारैतिरबाट घेरेको थियो । गाउँलेहरु पनि पुलिको सहयोगमा जुटेका थिए । तर, सुवासको तर्फबाट कुनै पनि माग आएको थिएन, उनी कुराकानी गर्न तयार पनि थिएनन् । राती करिब सवा ९ बजे एटिएसको टिम पुग्यो र उद्धार अपरेशन सुरु भयो । एटिएसले घरलाई चारैतिरबाट घेरा हाल्यो । ड्रोन उडाएर घरको सबैतिर निरीक्षण गरियो । ड्रोनले खिचेका तस्वीरमा घरभित्र भारी परिमाणमा गोलाबारुद देखियो । घरभित्र सबै बालबालिका भएकोले कुनै पनि कारवाहीमा पूरै घर विष्फोट भएर बालबालिकाको ज्यान जाने खतरा देखियो ।

राती करिब ११ बजे सुवासले २ वर्षका एक बालकलाई घरबाहिर पठाए । सुवासकी पत्नी ती बालक र एउटा पत्र लिएर बाहिर आइन् । यो पत्र टाइप गरिएको थियो जसबाट सुवासले राम्रोसँग योजना बनाएर अपहरण गरेको अनुमान लगाइयो । पत्रमा सुवासले लेखेका थिए कि उनले लामो समयदेखि सरकारी योजना अन्तर्गत घर र शौचालयको माग गरिरहेका थिए तर अहिलेसम्म उनको मागको कुनै सुनुवाइ भएको छैन ।

गाउँलेले अबेर राती सुवासको घरमा ढुंगा हान्न सुरु गरे । पुलिस पनि पूर्ण रुपमा तयार थियो । सुरक्षा बलले घरलाई चारैतिरबाट घेरेर राखेका थिए । पुलिसले कुराकानीमा सुवासलाई व्यस्त राख्यो । त्यही समय एक टिम पछाडिको गेटमा तयार थियो । राती करिब सवा १ बजे गाउँलेले घरमा आक्रमण गर्न थाले र घरको मुख्य ढोका फुटाइदिए । त्यसपछि पुलिस घरमा घुस्यो र इन्काउन्टरमा सुवासलाई मारिदियो ।

गाउँलेको रिस सुवासकी पत्नी रुबीमाथि पोखियो । उनलाई गाउँका महिलाहरुले नराम्ररी कुटे । पुलिसले जसोतसो गाउँका महिलाहरुकोकब्जाबाट रुबीलाई छुटायो र गम्भीर हालतमा अस्पताल पठायो । अस्पतालमा उनको पनि मृत्यु भयो । सुवासकी एक वर्षकी छोरी पनि छिन् जसलाई स्थानीय प्रशासनले सुरक्षित स्थानमा राखेको छ । करिब ११ घण्टा चलेको यो अपरेशनमा ५ पुलिससहित ६ जना घाइते भएका छन् । मुख्यमन्त्रीले पुलिस टिमलाई १० लाख पुरस्कार घोषणा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *