कामै नगरेका र पूर्णता नपाएका आयोगले बुझाए वार्षिक प्रतिवेदन

डिसी नेपाल
१७ माघ २०७६ १४:१२

काठमाडौं। कामै नगरेका र पूर्णता पनि नपाएका आयोगहरुले आफ्नो वार्षिक प्रतिवेदन भने बुझाएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा ती आयोगका वार्षिक प्रतिवेदन पेस गरिएको छ।

सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आयोगहरुका प्रतिवेदन पेश गरेका हुन्।

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगले अझै पूर्णता पाएका छैनन्। बैठकमा राष्ट्रिय मानवअधिकार आयोग , लोकसेवा आयोग र न्याय परिषद् र न्याय सेवा आयोगका २०७५÷७६ को वार्षिक प्रतिवेदन पनि पेश भएका छन्।

शुक्रबारको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश बैठकलाई जानकारी गराएका थिए।

त्यसैगरी सचिव योगीले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन )विधेयक २०७६ र संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरेका थिए।

बैठकले पूर्वसांसद गम्भीरजंग कार्कीको निधनमा शोक प्रस्ताव पारित गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *