४७ वर्षपछि ईयूबाट बाहिरियो यूके, पक्ष र विपक्षमा प्रदर्शन

एजेन्सी । यूके युरोपेली सङ्घबाट बाहिरिएको छ ।
४७ वर्षे लामो सदस्यता त्यागेको औपचारिक भिडिओ सन्देशमा प्रधानमन्त्री बोरिस जोनसनले तीन वर्षभन्दा लामो समय राजनीतिक खटपट बेहोरेको ब्रेक्जिटलाई ‘नयाँ बिहानी’ भनेका छन् ।
ब्रेक्जिट पक्षधर र युरोपेली सङ्घको समर्थन गर्ने प्रदर्शनकारीहरू दुवैले र्याली, उत्सव र मैनबत्ती बालेको बीबीसीले जनाएको छ ।
सदस्यता त्यागे पनि धेरैजसो युरोपेली सङ्घका कानुनहरू कायमै रहने छन्। जस्तो कि डिसेम्बरको अन्त्यसम्म मानिसहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन्।
त्यति बेलासम्म स्थायी रूपमा खुला व्यापार सम्झौता युरोपेली सङ्घसँग गरिसक्ने लक्ष्य यूकेले राखेको छ। लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिटपछि ‘देश अगाडि बढ्नुपर्थ्य’ र युरोपली सङ्घसँग ‘राम्रो सम्बन्ध बनाइरहनुपर्थ्यो’ बताए ।
विना आधार अमेरिकासँग ‘सम्झौत गर्न हामफाल्न नहुने’ पनि उनले बताए। उनले सन् २०१६ मा भएको ब्रेक्जिटसम्बन्धी जनमत सङ्ग्रहमा जुन तरिकाले मत खसेको भए पनि ईयूबाट बाहिरिने दिन सबैका लागि धेरै महत्त्वपूर्ण भएको पनि बताए।
जनमतसङ्ग्रहका बेला ईयूसँगै बस्नुपर्ने अभियानको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री डेविड क्यामरुनले पनि ‘आजको दिन आफ्नो देशका लागि निकै ठूलो’ भएको बताएका छन्। उनले ब्रिटेनका जनताको ‘रोजाइ सफल हुन्छ’ भन्ने विश्वास लिएको पनि बताए।
ब्रेक्जिट पार्टीका नेता नाइजल फराजले भनेस् ‘अन्त्यमा त्यो दिन आएको छ जब हामी स्वतन्त्र हुन्छौं। संस्थापनकोविरुद्ध लड्ने मानिसका लागि यो ठूलो जित हो।’
शुरूमा ब्रेक्जिट मार्च २९ का लागि तय गरिएको थियो तर ईयू र पूर्वप्रधानमन्त्री टरिजा मेबीच भएको सम्झौतालाई सांसदहरूले अस्वीकार गरेपछि पटकपटक त्यो पछाडि धकेलिएको थियो।
Facebook Comment