जाजरकोटका सबै पालिका पूर्ण खोपयुक्त हुँदै

डिसी नेपाल
१८ माघ २०७६ ११:०६

जाजरकोछ । आगामी जेठभित्र जाजरकोटका सबै पालिकालाई सुनिश्चिततासहित पूर्ण खोपयुक्त पालिका घोषणा गरिने भएको छ।

जिल्ला पूर्ण खोप समन्वय समितिको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

जिल्लाका सबै वडा पूर्ण खोपयुक्त घोषणा भइसकेका छन् । जेठ मसान्तभित्र नगर तथा गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरेर असारभित्र जाजरकोटलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय भएको खोप समन्वय समितिका अध्यक्ष जिल्ला समन्यव समितिका संयोजक मनबहादुर रावलले बताए ।

हालसम्म ५६ जिल्ला पूर्ण खोपयुक्त घोषणा भइसकेका छन् । रोगको दरमा कमी ल्याउने, अपाङ्गता हटाउने र बाल मृत्युदरमा कमी ल्याउने उद्देश्यसाथ सरकारले निःशुल्क खोप दिने व्यवस्था मिलाएको हो।

अहिले १५ महिनामुनिका बालबालिका र गर्भवती महिलालाई विभिन्न ११ प्रकारका सरुवा रोगविरुद्ध खोप लगाउने गरिएको छ।

जाजरकोटका २३० खोप केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले बताए ।

पूर्ण खोपयुक्त पालिका घोषणा गर्न १५ महिनामुनिका सबै बालबालिकाले खोप लगाएको हुनुपर्ने र कोही छुटेको भए २३ महिनाभित्र खोप लगाएर पूर्ण खोपको सुनिश्चितता भएपछि मात्र पूर्ण खोपयुक्त पालिका, जिल्ला घोषणा गर्न मिल्ने प्रावधान रहेको निमित्त प्रमुख जैसीले बताए ।

कार्यालयका अनुसार जाजरकोटमा एक वर्षमुनिका चार हजार ६६ बालबालिका र चार हजार ७९५ गर्भवती महिला छन् ।

सबैको साथ र सहयोग रहे निर्धारित समयमा नै पूर्ण खोपयुक्त पालिका घोषणा गरी जिल्लालाई नै पूर्णखोपयुक्त घोषणा गर्न सकिने जिल्ला समन्वय प्रमुख रावलको भनाइ थियो।

राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण सन् २०१६ अनुसार २८ दिनभित्र प्रतिहजारमा बालमृत्युदर २८, एक वर्षभित्र प्रतिहजार ३२ र पाँच वर्षभित्र बालमृत्युदर ३९ प्रतिहजार रहेको छ।

जाजरकोटको तथ्याङ्क नभए पनि राष्ट्रिय तथ्याङ्कको दोब्बर हुनसक्ने अनुमान छ। नेपालमा ७८ प्रतिशत बालबालिकाले सबै खोप लगाएको, २१ प्रतिशतले पूर्णखोपबाट वञ्चित रहेको र एक प्रतिशत बालबालिकाले कुनै पनि खोप नपाएको तथ्याङ्क छ।

भौगोलिक विकटता, जनचेतनाको कमी, स्वास्थ्यकर्मीको अभावलगायतका समस्या पूर्ण खोप सुनिश्चितताका चुनौतीका रुपमा रहेको निमित्त प्रमुख जिल्ला अधिकारी विष्णु सहनीले बताए ।

उनले खोप लगाउने बेला महिला स्वयंसेविकामार्फत सबैलाई खबर गर्नुपर्ने धारणा राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *