प्रचण्डको प्रस्ताव पारित

डिसी नेपाल
१९ माघ २०७६ १६:३२

काठमाडौं। पाँच दिनदेखि जारी सत्तारुढ दल नेकपा (नेपाल कम्युनिष्ट पार्टी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।

प्रचण्डले गएको १५ गते शुरु भएको बैठकमा सोही दिन राजनीतिक प्रतिवेदन पेश गरेका थिए। ती प्रतिवेदनहरुमाथि १५ वटा समूह बनाएर समूहगत छलफल गरिएको थियो। समूहगत छलफलको प्रतिवेदन पेशपछि आइतबार प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएपछि आइतबार प्रतिवेदन सर्वसम्मत पारित भएको हो।

जवाफ दिनेक्रममा प्रचण्डले प्रतिवेदनमा रहेको ‘चीनलाई घेर्ने’ शब्द फिर्ता लिने बताएका थिए। अमेरिकी ‘इण्डो प्यासिफिक रणनीति चीनलाई घेर्ने रणनीति’ भएको प्रचण्डको प्रतिवेदनमा उल्लेख थियो। तर, अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकट नेताहरुले यो शब्दप्रति आपत्ति जनाएका थिए। त्यसपछि प्रचण्डले सो शब्द फिर्ता लिने बताएका हुन्।

यस्तै नेकपाले अबका बैठकमा दुई अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहालको तस्वीर बैठकस्थलमा नराख्ने निर्णय गरेको छ। बैठकस्थलमा दुई अध्यक्षको तस्वीर राखिएपछि केन्द्रीय सदस्यहरु जगन्नाथ खतिवडा, राजेन्द्र राईलगायतले आपत्ति जनाएका थिए। उनीहरुले राजामहाराजा जस्तो तस्वीर राखेको भन्दै आलोचना गरेका थिए। त्यसपछि भने यस्तो तस्वीर नराख्ने निर्णय भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *