एमसीसीमा सरकारको डर–संशोधन गरे अमेरिका भागिहाल्छ !
काठमाडौं। लामो छलफल र बहशपछि सत्तारुढ नेकपाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा स्पष्ट पार्न तीन सदस्यीय कार्यदल गठन गरेको छ। एमसीसीको पक्ष र विपक्षमा मतहरु छरपस्ट हुन थालेपछि नेकपाले एमसीसीका विषयमा स्पष्ट पार्न तीन सदस्यीय कार्यदल गठनको गरेको हो।
विशेष गरी सरकारले जसरी पनि एमसीसी पारित गर्न चाहेपछि सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा पक्ष र विपक्षमा बहश भएको थियो। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पक्षधरले जस्ताको त्यस्तै एमसीसी पारित गर्नुपर्ने अडान राख्दा पूर्व माओवादी पक्षधरले भने एमसीसी पारित गर्न नहुने अडान राखेका थिए। पूर्व एमालेभित्रै माधव नेपाल पक्षधर समूहले भने एमसीसीका केही बुँदा परिमार्जन गरेर पारित गर्नुपर्ने पक्षमा आफूलाई उभ्याएका थिए।
नेपाल पक्षधरले केही बुँदा संशोधन गरेर पारित गर्ने प्रस्ताव गर्दासमेत ओली पक्षधरले संशोधन गरे अमेरिका भाग्छ भन्ने तर्क गरेका थिए। एमसीसीका विषयमा सहमति नजुटेपछि त्यस बारेमा थप अध्ययन गर्न कार्यदल नै गठन गरिएको छ।
वरिष्ठ नेता झलनाथ खनाल संयोक रहेको कार्यदलमा स्थायी कमिटी सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य छन्। ज्ञवाली बाहेक खनाल र रावल एमसीसीबारे विमति राख्ने नेता हुन्।
सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा एमसीसीका विषयमा निकै बहश भएको थियो। विशेष गरी एमसीसीको विषयमा तीन प्रकारका विचार प्रटक भएका थिए। नेकपा केन्द्रीय सदस्य हिमाल शर्माका अनुसार एकथरीले जस्ताको त्यस्तै पारित गर्नुपर्ने, अर्को थरीले केही परिमार्जन गरेर पारित गर्नुपर्ने र अर्को पक्षले पारित गर्नै नहुने मत राखेका थिए।
‘केन्द्रीय कमिटी बैठकमा तीन प्रकारका विचार प्रकट भएका छन्। केही साथीहरुले परिमार्जन गरेर जानुपर्छ भन्दा उहाँहरु (सरकार) त्यसो भयो भने अमेकिार भागिहाल्छ भन्नुहुन्छ,’ शर्माले डिसी नेपालसँग भने, ‘अमेरिका भाग्ने अवस्था नै आयो भने त्यस विषयमा सोच्न सकिन्छ।’
एमसीसीका विषयमा पूर्व माओवादी पक्षले भने कुनै पनि हालतमा पारित गर्न नुहने अडान लिँदै आएका छन्। केन्द्रीय कमिटी बैठकमा पनि उनीहरुले सो अडान राखेका थिए। उनीहरुले एमसीसीका फाइदा र वेफाइदालाई केलाउनु पर्ने र उचित भएमात्र पारित गर्नुपर्ने मत आफूहरुको रहेको केन्द्रीय सदस्य शर्माले बताए।
‘केही आपत्तिजनक बुँदा छन् भने ती बुँदालाई संशोधन गरौं भन्ने ल्यागत त यो सरकारले राख्नुपर्यो नी!,’ शर्माले भने, ‘ त्यो भन्दा अमेरिका भागिहाल्छ भन्नुहुन्छ। अमेरिका भाग्ने रहेछ भने छलफल गरौंला नी त।’ केही बुँदामा संशोधन गरेर यो सहयोग लिनुपर्छ भन्ने आफूहरुको भनाइ रहेको उनले जनाए।
एमसीसी आफैंमा के हो? यसमा जे विषय राखेर हस्ताक्षर भएको छ, त्यसको उद्देश्य के हो र अहिले प्रचार भएजस्तो इण्डोप्यासेसिफक रणनीतिसँग जोडिएको छ की छैन भन्ने विषय अझै गहिरो अध्ययन गर्नुपर्ने देखिएको नेकपा केन्द्रीय सदस्य ठाकुर गैरे बताउँछन्।
उनले एमसीसीका विषयमा पार्टीको केन्द्रीय नेतृत्व विभाजित नभइकन एकीकृत रुपमा प्रस्तुत हुने परिस्थितिको निर्माण गर्नुपर्नेमा जोड दिन्छन्। ‘नेतृत्व तहमा छलफल गरेर एमसीसीको विषयमा गर्ने के हो भन्ने स्पष्ट हुनुपर्यो,’ गैरेले डिसी नेपालसँग भने, ‘केन्द्रीय कमिटीलाई पनि नेतृत्वले स्पष्ट गर्न सकेको भए राम्रो हुने थियो।’
नेपाल असंलग्न नीतिबाट निर्देशित भएको उल्लेख गर्दै अर्का केन्द्रीय सदस्य विशाल भट्टराई भन्छन्–नेपाल आजसम्म कुनै पनि शक्ति राष्ट्रको गठबन्धनमा छैन। भोलि पनि हुँदैन। नेपालका आफ्नै मूल्यमान्ता छन्। हाम्रो परराष्ट्र नीति कतै ढल्किने वा कतै जाने संभावना पनि छैन। एमसीसी पारित गरेर जानुपर्छ। यदि त्यसभित्र अनुचित कुरा छन् भने नेपालले त्यसलाई अस्वीकार गर्नुपर्छ। हामीले जुन आयोजना तय गरेका छौं ती आयोजना पूरा भएपछि स्वत यो खारेज हुन्छ।’
Facebook Comment