सरकारसँग जोडिएका संस्थामा विकासको काम कमजोर : सञ्चारमन्त्री बाँस्कोटा

डिसी नेपाल
२० माघ २०७६ १४:२४

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारसँग जोडिएका संस्थाहरुमा अनुसन्धान र विकासका कामहरु कमजोर रहेको बताएका छन्।

नेपाल टेलिभिजनको ३५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजनमा पनि अनुसन्धान गरेर कार्यक्रमहरु उत्पादन गर्नुपर्ने बताएका हुन्।

उनले सरकारसँग जोडिएका सबै संस्थामा अनुसन्धान र विकास सम्बन्धमा कमजोर रहेको उल्लेख गर्दै नेपाल टेलिभिजनमा पनि यसको अवस्था कमजोर रहेको बताए।

उनले टेलिभिजन स्थापना भएको हिसाबले पहिलो टेलिभिजन भएपनि कार्यक्रम उत्पादन र जनताको रोजाईमा पहिलो हुनुपर्ने चुनौती रहेको बताए। त्यसका लागि दक्ष जनशक्ति अर्थात अनुसन्धन गर्न सक्ने जनशक्ति आवश्यक रहेको उनले बताए।

उनले भने, ‘एउटा सिंगो देशभित्र सिंगो देशका विभिन्न भौगोलिक विशेषता भित्र त्यस भित्रका विभिन्न सामाजिक संस्कृतिहरुभित्र आर्थिक क्षमताभित्र मान्छेका रुचिभित्र र उमेर समूहका रुचिलाई ध्यानमा राखेर कार्यक्रम उत्पादन हुनुपर्छ।’

उनले नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र, राष्ट्रिय समाचार समिति लगायतका संस्थाहरु सरकारी संस्था नभई जनता र राज्यको सम्पत्ति भएको बताए।

उनले विश्व समुदायमा नेपाल सम्बन्धी जानकारी लिन अन्य समाचार च्यानलहरुलाई माध्यम बनाएको पाइएको भन्दै त्यसको अन्त्य गर्न अंग्रेजी माध्यमको विश्व समाचार च्यानल ‘एनटिभि वल्र्ड’ यसै आर्थिक वर्ष भित्रमा नितिगत र व्यवस्थापकीय रुपमा सञ्चालनमा लयाउने समेत बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *