राष्ट्रियसभाले गरेका काम जनतालाई बुझाउन सुझाव

डिसी नेपाल
२२ माघ २०७६ १४:१८

काठमडाौं। राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले राष्ट्रियसभाको भूमिका बारे नकारात्मक टिप्पणी हुने गरेको भन्दै असन्तुष्टी जनाएका छन्।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद देवले चेतनशील नागरिक समेतले संविधानले राष्ट्रियसभाको काम कसरी परिभाषित गरिएको छ भन्ने बारेमा नबुझी राष्ट्रियसभाको बारेमा नकारात्मक भावना लिएर बसेको देखिएको गुनासो गरे।

उनले राष्ट्रियसभाको बारेमा रहेको भ्रम बुझाई हटाउन राष्ट्रियसभाले गरेको ऐतिहासिक कार्य, संबैधानिक हैसियत र गरिमाबारे नेपाली जनतालाई बुझाउने गरी कार्यक्रम गर्न सभाध्यक्षको ध्यानाकर्षण गराए।

राष्ट्रियसभाको संबैधानिक हैसियतको वास्तविकता नेपाली जनतामाझ जान नसकेका कारण राष्ट्रियसभाको महत्व कम आकलन हुने गरिएको भन्दै उनले महत्व झल्काउने कार्यक्रमको खाँचो औंल्याएका हुन्। संविधानले अर्थ विधेयक प्रतिनिधिसभामा मात्रै पेश हुनुपर्ने बाहेक अन्य विषयमा संघीय संसदका दुई सदनलाई विभेद नगरेको र समान हैसियत प्रदान गरेको पनि उनले जनाए।

संविधानले संघीय संसदका दुवै सदनलाई समान हैसियत, समान गरिमा र समान महत्व दिएको भएपनि राष्ट्रियसभाको संबैधानिक वास्तविकताबारे नेपाली जनतामाझ जान नसकेका कारण बुझाई फरक हुन गएको टिप्पणी उनले गरे।

उनले राष्ट्रियसभाको महत्व बुझाउनका लागि सचिवालयले गर्नुपर्ने कार्य भन्दै ४ बुँदे सुझाव पनि दिए।

उनले राष्ट्रियसभाले सघन रुपमा, राजनीतिक तह, समिति तह र सचिवालय तहमा नियमति रुपमा प्रेस मिट गरि गरिएका कामहरु सम्प्रेषण गर्न, राष्ट्रियसभाका सदस्यहरुलाई व्यक्तिगत र सामुहिक रुपमा जिम्मेवार बनाउने गरि नियमावलिमा संशोधन गर्न, समय समयमा विभिन्न प्रदेशमा राष्ट्रियसभाको संबैधानिक हैसियत काम र महत्वका बारेमा विचार गोष्ठी गर्न र राष्ट्रियसभाका समितिहरुको कामको पुर्नसंरचना गरि सबै समितिलाई पर्याप्त काम उपलब्धि हुने गरि राष्ट्रियसभा नियमावलिमा संसोधन गर्न सुझाव दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *