ललिता निवास धितोमा अर्बाैं कर्जा, कारवाही गर्न राष्ट्र बैंकलाई निर्देशन
काठमाडौं। बालुवाटारको ललिता निवास क्याम्पभित्र रहेको जग्गा धितोमा बैंकहरुले अर्बाैं रुपैयाँ कर्जा लगानी गरेको भेटिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा विभिन्न व्यक्तिहरुले आफ्नो नाममा जग्गा आएपछि धितो राखेर विभिन्न बैंकबाट कर्जा लिएको पाइएको हो।
अख्तियारले बुधबार १ सय ७५ जनालाई विपक्षी बनाउँदै दोषीमाथि कारबाही, बिगो तथा जरिवाना र जग्गा फिर्ताको मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूबाट ९ अर्ब आठ करोड १४ लाख बिगो र १३६ रोपनी जग्गा फिर्ता गर्न माग गरिएको छ।
अख्तियारको विज्ञप्तीमा ललिता निवास क्याम्पभित्रका जग्गाहरु व्यक्ति विशेषको नामबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १२५ रुपैयाँभन्दा बढीको धितो पारित भई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट अर्बाैंकाे कर्जा प्रवाह भएको उल्लेख गरिएको छ। तर, जग्गा धितो राखेर कुन कुन बैंकले कति रकम कसकसलाई ऋण प्रवाह गरेको भन्ने विषयमा भने उल्लेख गरिएको छैन।
सरकारी जग्गा धितो राखेर अर्बाैं लगानी गरेका बैंक तथा वित्तीय संस्थालाई कारवाही गर्नका लागि अख्तियारले नेपाल राष्ट्र बैंकलाई निर्देशन समेत दिएको छ। कर्जा दिने बैंकहरुमा रहेको सर्वसाधारणको निक्षेप सुरक्षित गर्न र जथाभावी कर्जा दिने संस्थालाई आवश्यक कारवाहि गर्न राष्ट्र बैंकलाई पत्राचार गर्ने निर्णय गरिएको अख्तियारले जनाएको छ।
Facebook Comment