तीन दिन बदलीसँगै वर्षा हुने

डिसी नेपाल
२३ माघ २०७६ २२:२७

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी बिहिबार विशेष बुलेटिन जारी गर्दै भोली शुक्रबार दिउँसोबाट नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने जनाएको हो ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएपनि शुक्रबारदेखि तीन दिनसम्म मौसम गढबढ हुनेछ । अहिले देशको पहाडी भूभागमा आंशिक बदली र अन्य स्थानमा सामान्यतया मौसम सफा रहेको छ । आज राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

शुक्रबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा समान्यतया सफा रहनेछ । देशको पश्चिमी पहाडी भेगका धोरै स्थानमा र मध्य तथा पूर्वीपहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातको समयमा देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा समान्यतया सफा रहनेछ भने पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार पनि देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *